Nic Ad Nic Ad
Nic Ad Nic Ad
अरुण–३ जलविद्युत् आयोजना

६० प्रतिशत काम सकियो, यसै वर्ष उत्पादन सुरु

शनिबार, फागुन २०, २०७९

काठमाडौँ– बहुप्रतीक्षित ९०० मेगावाटको अरुण–३ जलविद्युत् आयोजनाको हालसम्म ६० प्रतिशतभन्दा बढी निर्माणको काम सकिएको छ ।

लगानी बोर्डअन्तर्गत भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेभिएन) ले निर्माण गरिरहेको सो आयोजना निर्माणको काम तीव्र रूपमा भइरहेको जनाइएको छ ।

आयोजना निर्माणको काम आउँदो सन् २०२३ भित्र सम्पन्न गर्ने गरी अघि बढाइएको लगानी बोर्डका सहप्रवक्ता तथा उपसचिव रमेश अधिकारीले सिएन नेपाललाई जानकारी दिए ।

निर्माणको काम ६० प्रतिशतभन्दा बढी भइसके पनि प्रसारण लाइन निर्माणमा जटिलता देखिएको उनको भनाइ छ ।

उनका अनुसार प्रसारण लाइनतर्फ १५ प्रतिशतमात्र काम भएको छ ।

arun 3 (1)1677835621.jpg

‘अहिले आयोजना निर्माणको काम तीव्र रूपमा भइरहेको छ । तर, प्रसारण लाइनको क्षेत्राधिकार ‘राइट अफ वे’ भित्र पर्ने जग्गाको मुआब्जा र क्षतिपूर्ति दिनुपर्ने कुरा अघि बढाउनुपर्ने छ,’ उनले भने, ‘केही–केही जिल्लामा अघि बढाउनुपर्छ । सडकखण्ड क्षेत्रको जग्गा प्रयोग गर्न मुआब्जा वितरण गर्नुपर्ने काम बाँकी नै छ ।’

आयोजनाको ड्याम साइट र पावर साइट क्षेत्रको काम करिब अन्तिम चरणमा पुगेको छ ।

पानी डाइभर्सन गर्ने सुरुङमार्गको काम यसअघि नै सकिएको छ भने हाइड्रो मेकानिकलतर्फ मेसिन तथा उपकरण जडानको काम भइरहेको आयोजनाले जनाएको छ ।

के–के काम बाँकी ?

हालसम्म आयोजना निर्माणको आधारभूत काम सम्पन्न भइसकेका छन् । आयोजना स्थलसम्म पुग्ने बाटो, पुल र पावर हाउस निर्माणको काम सम्पन्न भइसकेको छ । 

अडिट–१ को गेट निर्माण, पावर इन्टेक टनेल, ड्याममा कंक्रिटिङलगायत काम सकिएको छ । 

मुख्य सिभिलअन्तर्गत अधिकांश मेसिन तथा उपकरण आयोजना स्थलमा ल्याइसकिएको छ । दुइटा भर्टिकल प्रेसर साफ्ट(ठाडो सुरुङ) निर्माण भइसकेको छ भने एउटाको वाइडनिङ (जडान) गर्ने काम भइरहेको छ ।

त्यस्तै, ड्राफ्ट ट्युबअन्तर्गत १ देखि ४ सम्मको काम पूरा भएको छ । स्लुइस रेडियल गेट निर्माणको काम ३५ प्रतिशत सकिएको छ ।

arun 3 (3)1677835620.jpg

हाइड्रोलिक सिलिन्डर र पावर प्याकलगायतका लागि आयोजना स्थलमा उपकरण राखिएको छ । मुख्य इन्टेक गेट र ड्राफ्ट ट्युब गेट बल्कहेड निर्माणको काम बाँकी छ ।

स्लुइस रेडियल गेटको रुट परिवर्तन गरिएकाले गेट निर्माणको कार्य गर्न बाँकी छ । पुलका खण्डहरूका लागि फेब्रिकेसन यार्ड निर्माण गरिसकिएको छ ।

समग्रमा हाइड्रो मेकानिलकतर्फ पावर हाउसभित्र जडान गर्नुपर्ने काम र केही फिनिसिङलगातका काम गर्न बाँकी छ ।

प्रसारण लाइन सुस्त

आयोजना निर्माणको कामले गति लिइरहँदा विद्युत् प्रसारण लाइन निर्माणको काम भने सुस्त देखिएको छ ।

हालसम्म प्रसारण लाइनतर्फ १५ प्रतिशत मात्र भौतिक प्रगति देखिएको छ । आयोजनाबाट उत्पादित बिजुली ढल्केबर सबस्टेसनमा जोडिनेछ ।

ढल्केबर सबस्टेसनसम्म पुग्ने गरी २१९ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्नुपर्छ ।

तर, प्रसारण लाइन निर्माणमा भोजपुर, खोटाङ, उदयपुरलगायत जिल्लामा जग्गा अधिग्रहणमा समस्या र स्थानीयको अवरोध छ ।

त्यस्तै, कोसी राजमार्ग निर्माणमा ढिलाइ भएका कारण पनि ट्रान्सफर्मरलगायत ठुला उपकरण लैजान नसकिएको आयोजना पक्षको भनाइ छ ।

arun 3 (4)1677835620.jpg

प्रसारण लाइनतर्फ २ प्याकेजमा काम भइरहेको छ । पहिलो प्याकेजअन्तर्गत १०७ वटा टावर निर्माण गर्नुपर्नेमा ४६ वटा टावरको फाउन्डेसन निर्माण भएको छ भने १७ वटा टावर ठड्यासकिएको छ ।

दोस्रो प्याकेजअन्तर्गत १२४ किलोमिटरमा २१० वटा टावरमध्ये २०३ वटाको फाउन्डेसनको काम सकिएको छ भने १८० वटा टावर ठड्याएको छ भने ८ किलोमिटर क्षेत्रमा तार तानिसकिएको छ ।

सबस्टेसन निर्माणतर्फ रोड निर्माणको काम ९५ प्रतिशत, बाउन्ड्री वाल निर्माण ९९ प्रतिशत, उपकरण फाउन्डेसनको काम ९० प्रतिशत, उपकरण जडानको काम ६० प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ ।

आयोजनाबाट उत्पादन हुने बिजुली प्रसारण लाइन निर्माण गरेर ढल्केबर सबस्टेसनमा जोडेर ढल्केबर–सीतामढी (भारत) ४०० केभी प्रसारण लाइनमार्फत निर्यात गर्ने सरकारको योजना छ । 

गत चैत ५ र ६ मा भारतमा सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा भारतीय पक्षले अरुण–३ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणमा देखिएको जग्गा अधिग्रहण र स्थानीयको अवरोधलगायत समस्या समाधान गरि सहजीकरण गरिदिन नेपाललाई आग्रहसमेत गरेको छ ।

सोही बैठकमा कोसी राजमार्ग निर्माणमा भएको ढिलाइले पावर ट्रान्सफर्मरलगायत ठुला उपकरण लैजान नसकिएकाले निर्माण तालिका प्रभावित हुन सक्ने संकेत गरेको थियो ।  

अरुण–३ बाट उत्पादित बिजुली विकासकर्ता भारतीय एसजेभिएनले आफ्नै बजारमा व्यवस्थापन गर्नेछ भने नेपाललाई कुल उत्पादित बिजुलीको २१.९ प्रतिशत निःशुल्क उपलब्ध गराउने गरी नेपाल–भारत सरकारबीच समझदारी भइसकेको छ ।

आयोजना निर्माणका लागि लागि १ खर्ब ४४ अर्ब रुपैयाँ लगानी स्वीकृत भइसकेको छ ।
 

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  ०९:१५
प्रतिक्रिया दिनुहोस्