Nic Ad Nic Ad
Nic Ad Nic Ad

धराप बन्दै जाजरकोटका सडक

शुक्रबार, फागुन १९, २०७९

जाजरकोट– पश्चिम जाजरकोटमा जताततै सडक निर्माण गरिए पनि यातायातका साधन गुड्न भने मुस्किल हुँदै आएको छ । 

हिउँदयाममा समेत यहाँका सडकमा यातायातका साधन सञ्चालन गर्न विद्युतीय धरापझैँ हुँदै आएका छन् ।

भेरी करिडोरसँग जोडिएको छेडा–कचाली सडकबाट मोर्क हुँदै जुनिचाँदे र कुशेसम्मका सडक विद्युतीय धरापजस्तै असहज बन्दै आएका छन् । मापदण्डविपरीत जहाँतहीँ डोजरको सहायताले खनिएका सडकमा बर्सेनि पालिकाबाट बजेट विनियोजन गरी माटो कोट्याएर सम्याउनका लागि कमाइ खाने भाँडोसमेत हुँदै आएको लुहाद निवासी जुनिचाँदे गाउँपालिकाका रेशमबहादुर खड्काले बताए । 

पछिल्लो ५ वर्षको रेकर्ड हेर्दा यस क्षेत्रमा आधा दर्जन सवारी दुर्घटनासमेत भइसकेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

निजी सवारीसाधनको बिगबिगी रहेको यहाँका सडकमा गुड्ने सीमित सवारीसाधनले जाजरकोटबाट काठमाडौँ गएकोभन्दा बढी भाडा असुल्ने गरेको उनको गुनासो छ । 

४ जना अट्ने गाडीमा आवश्यकताभन्दा बढी यात्रु राखेर भाडा असुल्ने गरेको सर्वसाधारणको आरोप छ ।

अधिकांश पालिकाले निर्माण गरेका सडकमा यातायातका साधन गुडाउन सक्ने अवस्था नरहेको नलगाडका लोकेन्द्र केसीले बताए । ‘जताततै सडक खनेको देखिन्छ । तर, हल्का सवारीसाधन समेत त्यहाँ चल्न मुस्किल छ,’ उनले भने । 

पश्चिम जाजरकोटमा छेडागाड नगरपालिका, शिवालय गाउँपालिका र जुनिचाँदे गाउँपालिका छन् । तर, पालिकाको मुकाम जान र आउन नै मुस्किल हुँदै आएको छ ।

शिवालय गाउँपालिकाको प्रशासकीय केन्द्र जोड्न गरिएको कालोपत्रसमेत लथालिंग भएकोे छ । ठाउँ–ठाउँमा कालोपत्र भत्किएका कारण सडक धरापमा परिणत भएको छ ।

त्यस्तै, छेडागाड नगरपालिका हुँदै जुनिचाँदे गाउँपालिका, कुशे गाउँपालिका पुग्ने सडक काम नलाग्ने अवस्थामा पुगेको र बर्सेनि चुनावी नारा बन्ने यहाँका सडक नाम मात्रका बन्दै आएको सवारी चालकको गुनासो  छ ।

खरिद गुरुयोजना स्वीकृत नगर्दा सडक निर्माणमा बाधा

अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेका जाजरकोटका केही सडकमा खरिद गुरुयोजना स्वीकृत नहुँदा काममा समस्या हुँदै आएको छ । 

२०७९ असोज ११ गते अर्थ मन्त्रालयले मन्त्री स्तरीय निर्णय गरे पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले खरिद गुरुयोजना स्वीकृत नगर्दा सडकको काम अगाडि बढ्न सकेको छैन ।

अर्थ मन्त्रालयले १ अर्ब ८४ करोड रुपैयाँ स्वीकृत गरिसकेको प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेतले जानकारी दिए ।

पश्चिम क्षेत्रको छेडा, वडावन, साना खोला, चाँदे र टोप्ला सडकको स्तोन्नति, चैखिला साना खोला जुनी सडक छन् ।

त्यस्तै, पूर्वमा रहेका सडकमा खलंगा, बोहरा, इबर, गंगटिया र मेलटारी वैकल्पिक राजमार्ग भेरी नगरपालिकाको जाजरकोट, खारा, चारगाँ, ऐरार्नी, गर्छिना, समाइला र जुम्ला जोडने सडकमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले खरिद गुरुयोजना स्वीकृत नगर्दा काम सुरु हुन नसकेको हो ।

ट्रयाक ओपन भएका यी सडकमा स्तरोन्नति नहुँदा विद्युतीय धरापका रूपमा विस्तार हुँदै गरेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  १४:३७
प्रतिक्रिया दिनुहोस्