इरानमा विष हमला गरेर छात्रालाई विद्यालय जानबाट रोक

बिहीबार, फागुन १८, २०७९

काठमाडौँ –इरानमा कम्तीमा ६५० जना छात्राहरूलाई विद्यालय जानबाट रोक्न जानाजान निशाना बनाएर विष दिइएको छ ।

सरकारका एक वरिष्ठ सरकारी अधिकारीले घटनालाई स्वीकार गरेका छन् ।

त्यस्तो घटनामा कुनै पनि छात्राको ज्यान गएको छैन तर दर्जनौँलाई सास फेर्न गाह्रो हुने, वाक् वाक् लाग्ने, रिँगटा लाग्ने र बेस्सरी थाकेको अनुभव हुने जस्ता समस्याहरू सहित अस्पताल भर्ना गर्नु परेको छ ।

‘घटनाक्रमलाई विचार गरेर हेर्दा केही मानिसहरू सबै विद्यालयहरू खास गरी छात्राहरूको विद्यालय बन्द गर्न चाहन्छन्’ इरानका उपस्वास्थ्य मन्त्री युनेस पानाहीले भने ।

विगत ३ महिनादेखिको समयमा विद्यालय जाने छात्राहरूले बिरामी पर्नुअघि सुन्तलाको वा कुहिएको माछाको जस्तो गन्ध आएको अनुभव भएको बताएका थिए।

‘यी घटनामा प्रयोग भएका केमिकलहरू सैन्य अस्त्र स्तरका छैनन् र सजिलै बजारमा पाइने खालका छन्’, डा पानाहीले भने ।

एक धार्मिक शहर कोम ठूलो सङ्ख्यामा छात्राहरूलाई विष दिइएको घटनाको केन्द्रमा छ तर त्यस्ता आक्रमण इरान भरी नै विभिन्न आठ शहरहरूमा भएका छन् ।

विष दिइएको पहिलो घटना सन् २०२२ को नोभेम्बर महिनाको ३० तारिखमा भएको थियो जुन बेला कोमस्थित नुर प्राविधिक विद्यालयका १८ जना विद्यार्थीलाई विषको असर देखिने लक्षणहरूसहित अस्पताल लगिएको थियो ।

त्यसयता छात्राहरू पढ्ने उक्त प्रान्तका १० वटा भन्दा बढी विद्यालयहरूलाई निशाना बनाइएको छ ।

यसै वर्ष फेब्रुअरीको मध्यमा कोमको गभर्नरको कार्यालयबाहिर १०० जनाभन्दा बढी मानिसहरूले विरोध प्रदर्शन गरेका थिए ।

केही अभिभावकहरूले विष दिइएको घटनापछि तिनका बालबालिका हप्तौँसम्म बिरामी परेका बताएका छन् ।

यी हमलाहरू कोममा केन्द्रित देखिन्छन् जुन शिया मुस्लिमका धार्मिक नेताहरूको गृह क्षेत्र हो । ती नेताहरू उक्त इस्लामिक गणतन्त्रको मेरुदण्ड हुन् ।

तर गत सेप्टेम्बरमा कपाल ढाक्ने पोसाक नलगाएको भन्ने अभियोगमा प्रहरी हिरासतमा राखिएकी एक कुर्द युवती माहसा अमिनीको मृत्यु भएपछि उर्लेको विरोध प्रदर्शनपछि ती धार्मिक नेताहरूको शक्तिले चुनौतीको सामना गरिरहनु परेको छ ।

केही इरानीहरूले साना छात्राहरूमाथि भइरहेका विष आक्रमण त्यही सरकार विरोधी ठूलो स्तरका प्रदर्शनको बदला त होइन भनेर आशङ्का समेत व्यक्त गरिरहेका छन् ।

केहीले यी हमलाहरूलाई अफगानिस्तानको तालिबान र नाइजेरियाको उग्रवादी इस्लामिक समूह बोको हरामको नक्कल गर्न खोज्ने धार्मिक कट्टरपन्थीहरूको काम हुनसक्ने अनुमान पनि गरेका छन् ।

तिनीहरूले अभिभावकहरूलाई डरधम्की देखाएर आतंकित तुल्याइ तिनका छोरीहरूलाई विद्यालय पठाउनबाट रोक्ने प्रयास गर्ने गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १३:२१
प्रतिक्रिया दिनुहोस्