ओस्कार अवार्डको पूर्वसन्ध्यामा ‘आरआरआर’ को पुनः प्रदर्शन

बिहीबार, फागुन १८, २०७९

काठमाडौँ –ओस्कार अवार्ड –२०२३ को पूर्व सन्ध्यामा अमेरिकाको लस एन्जलसमा भारतीय फिल्म ‘आरआरआर’ को पुनः प्रदर्शन हुने भएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार अमेरिकाको एक थिएटरमा केही घण्टामै फिल्मका १६ सयभन्दा बढी टिकट बिक्री भइसकेका छन् ।

यसको आधिकारिक घोषणा गर्दै फिल्मका निर्माताहरूले बिहीबार लस एन्जलसमा विश्वको सबैभन्दा ठूलो स्क्रिनिङ हुने बताएका छन् । फिल्मका मुख्य कलाकार रामचरण, जुनियर एनटीआर र निर्देशक एसएस राजामौली पनि स्क्रिनिङमा पुगेका छन् ।

फिल्म ‘आरआरआर’ को सामाजिक सञ्जाल ह्यान्डलले बुधबार ट्वीट गर्दै भनेको छ, ‘बिहीबार ‘आरआरआर’ को लस एन्जलसमा विश्वको सबैभन्दा ठूलो स्क्रिनिङको हुनेछ । १६४७ सिट भएको हल पहिले नै हाउसफुल भइसकेको छ ।’

ओस्कार अवार्ड २०२३ समारोहमा ‘आरआरआर’ को गीत ‘नाटु नाटु’ को स्टेज परफर्मन्स पनि हुनेछ । गायक राहुल सिपलीगन्ज र काल भैरवले शो मा प्रत्यक्ष प्रस्तुति दिनेछन् ।

‘नाटु नाटु’ लाई ओस्करको लागि मनोनयन गरिएको छ । यस श्रेणीमा, ‘नाटु नाटु’ ले रिहाना, लेडी गागा, मित्स्की, डेभिड बायर्न र डियान वारेनसँग प्रतिस्पर्धा गर्नेछन् ।

विश्व फिल्मको सर्वोच्च पुरस्कार वितरणको दिन नजिकिंदै जाँद ‘नाटु नाटु’ले अवार्ड जित्ने धेरैको अनुमान पनि छ ।
 

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १०:४५
प्रतिक्रिया दिनुहोस्