ग्रिसमा रेल दुर्घटना : मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो

३ दिने राष्ट्रिय शोकको घोषणा
बिहीबार, फागुन १८, २०७९

एथेन्स– मध्य ग्रिसमा मंगलबार राति दुई रेल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ ।

उक्त घटनामा घाइते भएका अन्य ६६ जना अस्पतालमा भर्ना भएका छन् । 

अग्नि नियन्त्रक सेवाका प्रवक्ता भासिलियोस वाथ्राकोगियानिसले पत्रकार सम्मेलनमा विशेष युनिटसहित १५० भन्दा बढी अग्नि नियन्त्रकहरूले भग्नावशेषमा बाँचेकाहरूको खोजी र उद्धार कार्यमा भाग लिइरहेको जानकारी दिए । 

टेम्पी नगरपालिकामा मध्यरातमा मालबाहक रेलमा ठोक्किएर दुर्घटना भएको यात्रुवाहक रेलको पहिलो तीन भागमा प्रयास केन्द्रित गरिएको उनले बताए । ठक्करपछि रेलको अघिल्लो भाग आगोको लप्कामा फसेको थियो । 

हेलेनिक ट्रेन रेल अपरेटरलाई उद्धृत गर्दै राष्ट्रिय प्रसारणकर्ता इआरटीले जनाएअनुसार उक्त यात्रुवाहक रेलमा ३४६ जना यात्रु सवार थिए ।

दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको ग्रिक प्रहरीले जनाएको छ ।

घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले तीन दिने राष्ट्रिय शोकको घोषणा सरकारका प्रवक्ता जियानिस ओइकोनोमोउले बताए । 

बुधबारदेखि शुक्रबारसम्म सबै सार्वजनिक भवनमा झण्डा आधा झुकाइने र सबै सार्वजनिक उत्सवहरू स्थगित हुने उनले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  ०५:४६
प्रतिक्रिया दिनुहोस्