नेभिगेशन
अर्थ विविध

हेटौँडा–इनरुवा प्रसारण लाइन १० वर्षदेखि अलपत्र

टावर निर्माणमा स्थानीयको अवरोध कायमै

काठमाडौँ– निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी क्षमताको प्रसारण लाइन निर्माणको काम १० वर्षदेखि अलपत्र छ ।

प्रसारण लाइन निर्माणमा मुआब्जा विवाद, रूख कटानमा समस्या र स्थानीयको अवरोधका कारण १ दशकदेखि आयोजना अलपत्र परेको हो । 

मकवानपुरबाट सुनसरीसम्म विभिन्न १० जिल्ला जोड्ने गरी निर्माण अघि बढाइएको उक्त प्रसारण लाइन निर्माणका क्रममा ठाउँठाउँमा समस्या छ ।

पहाडी र तराई क्षेत्र जोड्ने गरी २८८ किलोमिटर लामो प्रसारण लाइन बनाउन विद्युत् प्राधिकरणले सन् २०१३ फ्रेबुअरी ३ मा प्रसारण लाइन निर्माणको ठेक्का अघि बढाएको थियो ।

तर, हालसम्म उक्त प्रसारण लाइन निर्माण सम्पन्न हुन सकेको छैन । 

उक्त प्रसारण लाइन आयोजनामा ७९२ वटा टावर बनाउनुपर्छ । तर, हालसम्म ७२५ वटा मात्र टावर निर्माण भएको आयोजना प्रमुख श्याम यादवले सिएन नेपाललाई जानकारी दिए ।

ठेकेदार कम्पनीसँग मुद्दामामला परेका कारण लामो समय प्रसारण लाइन निर्माण अघि बढ्न नसकेको बताउँदै उनले मुद्दाको किनारा लागिसकेकाले आउँदो महिनादेखि प्रसारण लाइनको तार तान्ने काम सुरु हुने बताए ।

कतिपय ठाउँमा विवाद र अवरोधसमेत कायमै रहेको उनको भनाइ छ । ‘हालसम्म ७२५ वटा टावर निर्माण गरिसकिएको छ । थप १७/१८ वटामा काम भइरहेको छ । कतिपय ठाउँमा स्थानीयको अवरोध कायमै छ,’ उनले भने, ‘ठेकेदार कम्पनीसँगको मुद्दाको किनारा लागिसकेकाले आउने महिनादेखि तार तान्ने काम अघि बढ्छ ।’

आउँदो असारसम्म सम्पूर्ण टावर निर्माणको काम सम्पन्न गर्ने गरी काम अघि बढाइएको उनको भनाइ छ । टावर निर्माणसँगै तार तान्ने काम पनि सँगसँगै अघि बढाउने उनले जानकारी दिए । 

अहिले पनि हेटौँडा उपमहानगरपालिका–१५, १६ र १७ का स्थानीयले निजी जग्गामा लाइन निर्माणमा अवरोध गर्दै आएका छन् ।

सिरहाको लहान पडरिया क्षेत्रका बासिन्दाले पनि प्रसारण लाइन निर्माणमा विभिन्न माग र शर्त राखेर अवरोध गरिरहेको आयोजनाले जनाएको छ ।

त्यहाँका स्थानीयले रुट परिवर्तन गरेर लाइन निर्माण गर्न माग गर्दै वर्षौंदेखि सो क्षेत्रमा टावर निर्माण गर्न दिएका छैनन् । त्यस क्षेत्रमा पर्ने १७ वटा टावर अहिलेसम्म पनि निर्माण हुन सकेको छैन ।

त्यस्तै, सर्लाहीको जियाजोर क्षेत्रमा पनि स्थानीयको अवरोध छ । त्यस क्षेत्रमा पनि निजी जग्गा र वन क्षेत्र प्रयोग गर्न स्थानीय बासिन्दाले अवरोध गरिरहेका छन् । 

सो क्षेत्रमा ८ वटा टावर बनाउनुपर्नेमा अहिलेसम्म जगसमेत खनिएको छैन । लहान र सिराहा, सर्लाही क्षेत्रमा पनि केही ठाउँमा स्थानीयको अवरोध छ ।

यता, सिरहाको लहान पडरिया क्षेत्रका बासिन्दाले पनि प्रसारण लाइन निर्माणमा विभिन्न माग र शर्त राखेर अवरोध गरिरहेको आयोजनाले जनाएको छ ।

प्रसारण लाइन आयोजना मकवानपुर, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, उदयपुर र सुनसरी जिल्लालाई जोड्दै निर्माण अघि बढिरहेको छ ।

प्रसारण लाइनको ‘राइट अफ वे’  दायाँ–बायाँ २३/२३ मिटर हुने गरी प्रस्ताव गरिएको छ । ५०८ हेक्टरमा वन क्षेत्रका रूख काट्नुपर्ने र ३३ हेक्टर निजी कृषियोग्य जमिन अधिग्रहण गर्नुपर्ने थियो ।

वन क्षेत्रको जग्गा प्रयोग, रूख कटान र निजी जग्गा प्रयोगमा देखिएको समस्याले सो प्रसारण लाइन आयोजना १ दशकदेखि निर्माण पूरा हुन सकेको छैन ।

प्रसारण निर्माणमा देखिएको अवरोध हटाउन यसअघि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीले अनुगमनसमेत गरेको थियो । 

त्यहाँका स्थानीय, ठेकेदार, परामर्शदाता र सरोकारवाला निकायसँग छलफल गरी समस्या समाधानका लागि पहल गरिदिन घिसिङले आग्रह गरेका थिए ।

त्यति मात्र होइन, बाग्मती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेललगायत सरोकारवाला निकायले समेत आयोजना निर्माणमा देखिएका समस्या र अवरोध हटाउन प्रयत्न नगरेका होइन् । तर, स्थानीयको अवरोधले प्रसारण निर्माण अहिले पनि ठप्प जस्तै छ ।

उक्त प्रसारण लाइन आयोजना निर्माणमा प्राधिकरणको स्रोत र विश्व बैंकको सहुलियतपूर्ण ऋण लगानी छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध