नेभिगेशन
समाज विविध

अपांगमैत्री पूर्वाधार निर्माणमा सरकार चुकेको आरोप

काठमाडौँ– शारीरिक अशक्तता भएका व्यक्तिहरूले सरकारले अपांगमैत्री भौतिक पूर्वाधार निर्माण गर्न नसक्दा अपांगता भएका व्यक्तिहरूलाई झनै असहज भएको गुनासो गरेका छन् ।

बुधबार १५औँ अन्तर्राष्ट्रिय ह्विलचेयर दिवसको अवसरमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै ह्विलचेयर प्रयोगकर्ता भरतबहादुर कार्कीले यस्तो गुनासो गरेका हुन् । 

भृकुटीमण्डपमा रहेको राष्ट्रिय अपांग कोषमा आबद्ध उनले आफूले ३० वर्षयता ह्विलचेयरको प्रयोग गर्दै आएको बताउँदै सरकारले ह्विलचेयर प्रयोगकर्ताका लागि कुनै सहजता प्रदान नगरेको आरोप लगाए ।

ह्विलचेयरसहित अन्य सहायता सामग्रीमा विदेशी दातृ निकायमा नै आश्रित हुनुपर्ने बाध्यता रहेको भन्दै सरकारले यसतर्फ ध्यान दिन जरुरी रहेको उनको भनाइ छ । 

उनले पछिल्लो समय स्थानीय तहले अपांगता भएका व्यक्तिहरूका लागि आवश्यक चासो दिए पनि केन्द्र सरकारले भने चासो नदिएको आरोप लगाए । देशभर करिब ३५ हजारभन्दा धेरै ह्विलचेयर प्रयोगकर्ता भएको उल्लेख गर्दै उनले भौतिक पूर्वाधार अपांगमैत्री नहुँदा सहायक सामग्री पाइसक्दा पनि शतप्रतिशत काम गर्न र हिँडडुल गर्न नसकेको बताए ।

उनले अपांगतामैत्री पूर्वाधार निर्माणका लागि नीति निर्माण गर्ने तहमा नै अपांगता भएका व्यक्तिहरू हुन आवश्यक रहेको बताए । अपांगमैत्री पूर्वाधार निर्माणमा सरकार चुकेको उनको आरोप छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध