सोमालियामा ५० लाख नागरिक भोकमरीमा

बुधबार, फागुन १७, २०७९

काठमाडौँ –राजनीतिक र आर्थिक संकटमा फसेको सोमालियामा करिब ५० लाख नागरिक खाद्य संकटमा परेका छन् । संयुक्त राष्ट्रसंघका विज्ञहरूले यससम्बन्धमा जानकारी दिएका छन् । सोमालियाली अधिकारीहरूले यसअघिदेखि नै देशमा खाद्यान्नको संकट परेको बताउँदै आएका छन् ।

यहाँ खाद्य संकटमा परेका मध्ये कम्तीमा पनि १ लाख नागरिक त अहिले नै भोकमरीमा परेका छन् । खाद्यान्न सम्बन्धी विज्ञलाई उद्धृत गर्दै संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियोग गुटरेसका प्रमुख प्रवक्ता स्टेफन डुजारिकले सोमालियाको अवस्था निकै खराब बन्दै गएको बताएका छन् ।

उनका अनुसार सोमालियाका अनुमानित १८ लाख बालबालिका कुपोषणमा परेका छन् र तीमध्ये करिब ५ लाख जनाको अवस्था नाजुक छ । अहिले नै यहाँ खाद्यान्नसम्बन्धी आवश्यक व्यवस्था गर्न नसक्ने हो भने यस देशमा खाद्यान्नको चरम संकट पर्दै जानेतर्फ सबैले ध्यान दिनुपर्ने उनले बताएका छन् ।

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १२:५१
प्रतिक्रिया दिनुहोस्