नारायणगढ–बुटवल सडक विस्तार : चिनियाँ ठेकेदारको चरम लापरबाही

४ वर्षमा २६ प्रतिशत मात्र काम
बुधबार, फागुन १७, २०७९

काठमाडौँ– ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको कामले गति लिन सकेको छैन ।

साढे ३ वर्षमा सम्पन्न गर्नुपर्ने उक्त खण्डको सडक विस्तार ४ वर्षमा बल्ल २६ प्रतिशत मात्र सकिएको हो ।

४२ महिनाभित्र सडक विस्तारको काम सम्पन्न गर्ने गरी चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सन् २०१९ जनवरी ११ (२०७५ फागुन २५) मा ठेक्का सम्झौता भई निर्माण सुरु गरेको थियो ।

सम्झौताअनुसार सन् २०२२ अगस्टसम्म निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर, ठेकेदार कम्पनीले विभिन्न बहानामा आयोजना निर्माणमा ढिलाइ गर्दै आएको छ ।

कहिले कोभिड–१९ त कहिले बिजुलीका पोल र रूख काट्ने समस्या देखाउँदै कम्पनीले तोकिएको अवधिमा आयोजना सम्पन्न गर्नु त परको कुरा, ४ वर्षमा एक तिहाइ काम पनि गर्न सकेको छैन ।

सडक विस्तार नहुँदा बर्सेनि त्यस खण्डमा चल्ने सवारीसाधन र यात्रुले भोग्नुसम्मको सास्ती भोगिरहेका छन् ।

अहिले सडक यति धेरै बिग्रेको छ कि कालोपत्रको कुनै नामोनिसान देखिँदैन भने खाल्डाखुल्डी र धुलोको सास्ती त्यस सडकखण्डमा यात्रा गर्ने जोसुकैले भोग्ने नियति बनेको छ ।

नारायणगढबाट बुटवलसम्म पुग्न सामान्यतया डेढदेखि २ घन्टाको यात्राको दुरी सडकको खराबीकै कारण ५ देखि ६ घन्टाभन्दा बढी लाग्ने गरेको यात्रुको गुनासो छ ।

दाउन्नेको उकालो र साँघुरो तथा घुम्ती धेरै भएका कारण बीचमा कुनै ट्याक्टर वा मालबाहक ट्रक बिग्रियो भने घन्टौँ जाममा फस्ने नियति बनेको छ, नारायण–बुटवल सडकखण्डमा ।

हिउँदमा धुलो र धुँवा, बर्खायाममा हिलो र खाल्डाखुल्डीका कारण यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

कोरोना महामारीलगायत कारणले आयोजना निर्माण अवरुद्ध भए पनि सरकारले १ वर्ष म्याद थप गरिदिएको छ । तर, थप म्यादभित्र काम सकिनेमा आयोजना पक्ष ढुक्क छैन ।

साइट क्लियरेन्सको काम सकिएकाले अब भने कामले केही गति लिने नारायण–बुटवल सडक विस्तार आयोजनाका प्रमुख प्रदीपराज शाक्य बताउँछन् । सडक विस्तारको काम सकिन अझै डेढ वर्ष लाग्न सक्ने उनको भनाइ छ ।

‘अहिले कामको गति त्यति बढेको थिएन । अब रूख काट्ने, बिजुलीका पोल हटाउने र आयोजनाका संरचना हटाउने काम सकिइसक्यो, अब सडक कालोपत्र सुरु भएपछि निर्माणले केही गति लिने अपेक्षा गरेका छौँ,’ उनले सिएन नेपाललाई भने, ‘निर्माण कम्पनीले काम ग¥यो भने एक-डेढ वर्षमा सम्पन्न हुन्छ ।’ 

यसअघि निर्माण कम्पनीले नै साइट क्लियरेन्सको काम गरिसकेको हो । अहिले सडकको दायाँबायाँ सम्याउने, कल्भर्ट हाल्ने, स–साना पुल तथा बाँध निर्माणको काम भइरहेको जनाइएको छ ।

चिनियाँ ठेकेदार कम्पनीले त्यहाँ कार्यरत श्रमिक र मजदुरलाई भुक्तानी नदिँदा पनि निर्माणले गति लिन नसकेको आयोजना प्रमुख शाक्य बताउँछन् ।

‘चिनियाँ निर्माण कम्पनीसँग नगद प्रवाह (क्यास फ्लो)को पनि समस्या पहिलेदेखि थियो । जसका कारण उसले त्यहाँ खटाएका श्रमिक र मजदुरलाई भुक्तानी दिन सकिरहेको थिएन,’ उनले भने, ‘अहिले कम्पनीले ‘क्यास फ्लो’ को समस्या हुँदैन भनेको छ । के गर्छ, हेर्न बाँकी नै छ ।’

सडक विस्तारको कामलाई तीव्रता दिन कम्पनीको हेडक्वार्टरका कर्मचारी आएर अनुगमन समेत गरिसकेको उनको भनाइ छ ।

कुल ११४ किलोमिटर लामो दुरीको सडक विस्तारको काम प्याकेज–१ अन्तर्गत ६५ किलोमिटर र प्याकेज–२ अन्तर्गत ४९ किलोमिटर सडकखण्डको काम भइरहेको छ । 

प्याकेज–१ को कुल लागत ९ अर्ब १५ करोड ७२ लाख र प्याकेज–२ को कुल लागत ७ अर्ब ८६ करोड ३२ लाख रुपैयाँ अनुमान गरिएको छ । सो सडकखण्ड विस्तारमा एसियाली विकास बैंक (एडिबी) को ८५ प्रतिशत ऋण सहयोग छ ।

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  ०८:१३
प्रतिक्रिया दिनुहोस्