कोरियन एयरलाइन्सको मनोपोली नियन्त्रण गर्न माग

मंगलबार, फागुन १६, २०७९

काठमाडौँ– कोरियन एयरलाइन्सले हवाई भाडामा गरेको मनोपोली नियन्त्रणका लागि सरकारले हस्तक्षेप गर्न सरोकारवाला निकायहरूले माग गरेका छन् ।

सोमबार पर्यटन मन्त्रालयमा भएको पत्रकारसँगको छलफल कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीले यस्तो माग गरेका हुन् ।

उनीहरूले नेपालबाट दक्षिण कोरिया जान अन्य एयरलाइन्सको भन्दा ३६ प्रतिशत हवाई भाडा महँगो लिएको भन्दै सरकारले हस्तक्षेप गर्न आवश्यक रहेको बताए । 

उनीहरूले कोरियन एयरलाइन्सले मनोपोली रूपमा लिने गरेको हवाई भाडा घटाउन सरकारले हस्तक्षेपबिना सम्भव नभएको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले दक्षिण कोरिया जाने कामदार वा भिजिट भिसामा जाने सबैलाई न्यायोचित भाडादर हुनुपर्ने बताए ।

उनले कोरियन एयरलाइन्सले मनोपोली रूपमा अन्य एयरलाइन्सको तुलनामा ३६ प्रतिशतसम्म बढी भाडा लिएकाले सरकारले तत्काल हस्तक्षेप गर्न आवश्यक रहेको बताए ।

रेग्मीले नेपाल एयरलाइन्सको दरअनुसार दक्षिण कोरिया ७० हजारदेखि बढीमा १ लाख ५५ हजारसम्म भाडा हुने भए पनि त्यसको दोब्बर भाडा लिइरहेको बताए । उनले काठमाडौँबाट भन्दा भारतको नयाँ दिल्लीबाट कोरियाको भाडा सस्तो रहेको बताए । 

उनले  भारतको भन्दा नेपालमा हवाई इन्धन ३६ प्रतिशत महँगो भए पनि भाडा पनि १२ प्रतिशतसम्म महँगो हुनुपर्नेमा ३६ प्रतिशत नै बढी लिनु गलत भएको बताए ।

उनले सन् २०१९ सम्म १ हजार डलरमा उडान भइरहेकामा पछिल्लो ४ वर्षमा यस्तो धेरै भाडा बढ्नुपर्ने परिर्वतन केही नभएको बताए ।

त्यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई। प्रदीप अधिकारीले पनि कोरियन एयरलाइन्सले ३६ प्रतिशत बढी भाडा लिएको विषयमा सरकारको हस्तक्षेप आवश्यक भएको बताए ।

प्राधिकरणले अन्तर्राष्ट्रिय एयरलाइन्सहरूलाई दबाब दिएर भाडादर नघटाउने उनले बताए । अधिकारीले कोरियन एयरलाइन्सको भाडा दरको मनोपोली नियन्त्रण गर्न राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्स सक्रिय हुनुपर्ने बताए ।

यता, नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीले निगम राष्ट्रिय ध्वाजावाहकको उपस्थितिले भाडा नियन्त्रण हुने विषयमा सहमत रहेको बताए । उनले निगमको उपस्थिति बढाउन निगमले पहल गरिरहेको पनि बताए ।

उनले नेपाल वायुसेवा निगमको उपस्थिति बढाउन जहाज नपुगेको अवस्थामा जहाज खरिद गरेर वा भाडामा लिएर भए पनि उडान गर्न तयार रहेको बताए ।

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १६:५९
प्रतिक्रिया दिनुहोस्