बैंकको ब्याजदरविरुद्ध सुदूरपश्चिमका व्यवसायी दैनिक प्रदर्शनमा

मंगलबार, फागुन १६, २०७९

धनगढी –चर्को ब्याजदरको विरुद्धमा सुदूरपश्चिमका व्यवसायीहरू सडकमा उत्रिएका छन । उनीहरूले, २० फागुनसम्म हरेक बिहान ११ बजेसम्म आ–आफ्नो व्यवसाय बन्द गरेर प्रदर्शन गर्ने तालिका सार्वजनिक गरेका छन् । 

कैलाली र अछामलगायतका जिल्लामा व्यवसायीहरूले प्रदर्शन गरी बैंकहरूलाई दबाब दिएका छन् । प्रदेशको राजधानी धनगढीमा मंगलरबार पनि बिहान ११ बजेसम्म उनीहरूले प्रदर्शन गरेका हुन् । व्यवसाय नै सुस्ताएको बेला बैंकको ब्याज अचानक बढेर दोब्बर भएपछि आफहरू समस्यमा परेको उनीहरूको गुनासो छ । सरकारले पनि ब्यवसायीको मागहरू बारे चासो नलिएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरको भनाइ छ ।

व्यसायीहरूले बैंकले दिने बेलाभन्दा दोब्बर पारेको ब्याज घटाउनुपर्ने, सेवाशुल्कमा गरिएको वृद्धि फिर्ता हुनुपर्ने, लिलाममा चढाइएको निर्णय फिर्ता हुनुपर्ने, ब्याज बुझाउने समय ३५ दिनसम्म नियमित मान्नुपर्ने, पर्यटनको क्षेत्रमा कर्जा प्रवाह गरिनुपर्नेलगायतका मागहरू अघि सारेका छन् ।

अछाममा पनि उद्योगी व्यवसायीहरू सडकमा उत्रिएका छन । चर्को ब्याजदरले व्यवसायी, किसान लगायत आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरू मारमा परेको भन्दै व्याजदर घटाउन बाध्य गराउने उद्देश्यका साथ विरोध कार्यक्रमहरू तय गरिएको उद्योग वाणिज्य संघ अछामका अध्यक्ष महेन्द्र कडायतले बताए ।

उद्योगी व्यवसायीहरूले १८ फागुनमा कुनै पनि बैंक तथा वित्तीय संस्थामा ‘नो डिपोजिट’ अर्थात् निक्षेप जम्मा नगर्ने निर्णयसमेत गरेका छन् ।

फागुन महिनाभित्र पनि माग सम्बोधन नभए संयुक्त छलफल गरी थप सशक्त आन्दोलन गरिने उद्योग वाणिज्य संघहरूले जनाएका छन् ।
 

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  ११:१७
प्रतिक्रिया दिनुहोस्