नेभिगेशन
समाज विविध

डडेल्धुराका ५ पालिकामा स्वास्थ्य शिविर

डडेल्धुरा– यहाँका ७ स्थानीय तहमध्ये ५ वटामा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । 

स्थानीय पालिकाका हरेक वडाले स्वास्थ्य सेवामा सबैको पहुँच पुर्‍याउने उद्देश्यले वडास्तरमा शिविर सञ्चालन गरेका हुन् । 

नवदुर्गा गाउँपालिकाले ५ वटै वडाका ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाको स्वास्थ्य जाँच गर्न शिविर आयोजना गरेको जनाएको छ । आँखा जाँच, महिलाको तल्लो पेट दुख्ने समस्या निराकरणका लागि उपचार तथा अन्य बिरामीको पनि उपचार भएको गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले जानकारी दिए ।

गन्यापधुरा गाउँपालिकाले पनि दीर्घरोगी, एकल महिला तथा आर्थिक अवस्था कमजोर भएका नागरिकको शिविरबाट निःशुल्क उपचार सेवा दिएको पालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले जानकारी दिए ।

अमरगढी नगरपालिका–१० ले शनिबार मात्रै आँखा शिविर सञ्चालन गरी १ हजार ५०० जनाभन्दा बढीले उपचार सेवा लिएका छन् ।

सोमबार वडा–६ ले सञ्चालन गरेको नाक, कान, घाँटी, दाँत र आँखा जाँचसम्बन्धी शिविरबाट हजारौँ स्थानीयबासीले सेवा लिइरहेको अध्यक्ष केवि ताम्राकारले बताए । गाउँमै चिकित्सकबाट उपचार पाउँदा स्थानीयबासी हर्षित छन् ।  

२ दिनसम्म सञ्चालन भएको एकीकृत निःशुल्क स्वास्थ्य शिविरमा हजारौँ बिरामीले स्वास्थ्य परीक्षण गराएका छन् । ज्येष्ठ नागरिक, अशक्त, असहाय तथा आर्थिक अवस्था कमजोर भएका नागरिकलाई घरदैलोमै पुगेर स्वास्थ्य सेवा दिन पाउँदा खुसी लागेको शिविरमा संलग्न चिकित्सिक टिमका लक्ष्मीप्रसाद भट्टले बताए । 

एकीकृत स्वास्थ्य शिविरअन्तर्गत सामान्य स्वास्थ्य परीक्षण, आँखा, दाँत परीक्षण, भिडियो एक्सरे, पाठेघर खसेका महिलाको जाँच, रिङ्गपेसरी राख्ने, ल्याबदेखि निःशुल्क औषधि वितरण गरिएको स्थानीय तहले जनाएका छन् । शिविरमा निःशुल्क औषधि तथा चस्मा वितरण गरिएको थियो ।

उपक्षेत्रीय अस्पताल डडेल्धुरा र सायन नेपालको सहयोगमा डाक्टरले स्वास्थ्य परीक्षण गरिरहेका छन् । सदरमुकाममा पाउने सेवा गाउँघरबाटै पाउँदा स्थानीयबासी खुसी भएका छन् ।

शिविरमा ज्येष्ठ नागरिक र महिलाको संख्या उलेख्य रहेको शिविर सञ्चालन गरेका पालिकाले जनाएका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध

हुलाकी सडकले फेरेको नरैनापुर