इरानका एक उपमन्त्रीको दाबी– शिक्षामा पहुँच रोक्न छात्रालाई विषाक्त पदार्थ खुवाइने गरिएको छ

सोमबार, फागुन १५, २०७९

तेहरान– इरानको पवित्र सहर कोममा छात्राहरूको शिक्षामा पहुँच रोक्ने उद्देश्यले ‘केही व्यक्तिले’ उनीहरूलाई विष खुवाएको यहाँका एक उपमन्त्रीले दाबी गरेका छन् । 

नोभेम्बरको अन्त्यदेखि तेहरानको दक्षिणमा पर्ने कोममा मुख्यतया विदालयस्तरका छात्राहरूमा श्वासप्रश्वाससम्बन्धी विषाक्तताका सयौं घटनाहरू देखा परेका छन् ।

आइतबार उपस्वास्थ्यमन्त्री युनेस पनाहीले विषाक्त पदार्थ जानीजानी खुवाइने गरिएको पुष्टि गरेका छन् । 

‘छात्रा विद्यालय बन्द गर्न चाहेर कोमका धेरै विद्यार्थीलाई विष खुवाइएको पाइएको छ । केही मानिसले विशेषगरी छात्राविद्यालय बन्द गर्न चाहेको भेटिएको छ,’ पानाहीलाई उद्धृत गर्दै सरकारी समाचार संस्था इरनाले जनाएको छ ।

मन्त्रीले घटनासँग सम्बन्धित कोही पनि अहिलेसम्म पक्राउ नपरेको बताए । 

गत फेब्रुअरी १४ का दिन बिरामी परेका विद्यार्थीका अभिभावकहरू सहरको प्रान्तबाहिर भेला भई अधिकारीहरूसँग ‘स्पष्टीकरण माग’ गरेका थिए ।

अर्को दिन सरकारका प्रवक्ता अली बहादोरी जाहरोमीले गुप्तचर र शिक्षा मन्त्रालयले विषाक्तताको कारण पत्ता लगाउने प्रयास गरिरहेको बताएका थिए । 

गत साता महान्यायाधिवक्ता मोहम्मद जाफर मोन्टेजेरीले घटनाको न्यायिक छानबिन गर्न आदेश दिएका थिए । 

गत डिसेम्बर १६ मा २२ वर्षीया इरानी कुर्द महसा अमिनीको हिरासतमा मृत्यु भएपछि इरानमा महिलाका लागि कडा ड्रेस कोडको उल्लंघन गरेको भन्दै विरोध प्रदर्शन भइरहेका बेला उक्त विषाक्ततासम्बन्धी घटना आएको हो ।

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  ०६:१०
प्रतिक्रिया दिनुहोस्