जापान सरकारद्वारा थोक मूल्यको मासिक मूल्यांकनलाई परिमार्जन 

बुधबार, फागुन १०, २०७९

टोकियो– जापान सरकारले मंगलबार थोक मूल्यको मासिक मूल्यांकनलाई परिमार्जन गरेको छ । यद्यपि, यस मूल्यांकनबाट जापानी अर्थतन्त्रको अवस्था भने यथावत् छ । 

योसँगै कर्पोरेट सामानको मूल्य हालसालै सुस्त गतिमा बढ्दै गएको छ ।  क्याबिनेट अफिसले जारी गरेको फेब्रुअरीको आर्थिक प्रतिवेदनमा भने सामान्य परिवर्तन देखिएको छ । प्रतिवेदनका अनुसार केही कमजोरीका बाबजुद जापानी अर्थतन्त्र ‘मध्यम रूपमा उठिरहेको’ सरकारले आफ्नो मासिक मूल्यांकनमा उल्लेख गरेको छ । 

प्रतिवेदनले निजी उपभोग र कर्पोरेट खर्चदेखि उत्पादन र निर्यातसम्मको अर्थतन्त्रका ११ प्रमुख अंगहरूको मूल्यांकनलाई भने यथावत् कायम राखेको छ। साथै प्रतिवेदनले कमजोर निर्यात, औद्योगिक उत्पादन वृद्धिमा रोक र फेब्रुअरीमा बढ्दो उपभोक्ता मूल्यहरू पनि विशेषरूपमा उल्लेख गरेको छ।

जारी विश्वव्यापी मौद्रिक कडाइ र अन्य कारकहरूका बीचमा विदेशी अर्थतन्त्रको सुस्तता जापानी अर्थतन्त्रको लागि नकारात्मक जोखिमको रूपमा लिइएको पनि  प्रतिवेदनमा उल्लेख छ ।  
 

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  ०५:४२
प्रतिक्रिया दिनुहोस्