टर्कीमा पुनः भूकम्प, ६ जनाको मृत्यु

मंगलबार, फागुन ९, २०७९

एन्टाक्या– टर्कीमा पुनः शक्तिशाली भूकम्प भएको छ । दक्षिणी शहर एन्टाक्यालाई केन्द्रविदुन बनाएर सोमबार भएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ । भूकम्पको धक्का सिरिया, लेबनान र इजिप्टमा पनि महसुस गरिएको थियो ।

सोमबारको भूकम्प १० किलोमिटर गहिराइमा भएको युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रले जनाएको छ । गत माघ २३ गते टर्कीएको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर भएको सात दशमलव आठ म्याग्निच्युडको भूकम्पमा परी टर्कीए र छिमेकी सिरियामा ४७ हजारभन्दा बढीको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् ।

टर्कीका गृहमन्त्री सुलेमान सोयलुले सोमबारको भूकम्पमा परी घाइते भएका २१३ जनालाई अस्पताल भर्ना गरिएको बताएका छन् । सिरियामा १३० जना घाइते भएका तथा अघिल्लो भूकम्पबाट जीर्ण भएका केही भवन पूर्ण रूपमा भत्किएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  १२:४६
प्रतिक्रिया दिनुहोस्