यसै महिना भारत भ्रमणमा आउँदै जर्मन चान्सलर स्कोल्ज

मंगलबार, फागुन ९, २०७९

नयाँ दिल्ली– जर्मन चान्सलर ओलाफ स्कोल्जले यही फेब्रुअरी २५ र २६ मा भारतको राजकीय भ्रमण गर्ने भएका छन् । चान्सलर स्कोल्जका साथमा वरिष्ठ अधिकारीहरू र उच्च पदस्थ व्यक्तिहरूका साथै व्यापारिक प्रतिनिधिमण्डल पनि रहने भारतको विदेश मन्त्रालयले जनाएको  छ ।

उनी फेब्रुअरी २५ मा नयाँ दिल्ली आइपुग्नेर फेब्रुअरी २६ मा बेंगलुरू जाने मन्त्रालयको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।  सन्  २०११ मा द्विवार्षिक अन्तर-सरकारी परामर्श  संयन्त्र सुरु भएदेखि जर्मन चान्सलरको भारतको यो पहिलो भ्रमण हो ।  सो अवसरमा दुवै देशका मन्त्रीहरूले आ–आफ्नो जिम्मेवारीका विभिन्न क्षेत्रमा छलफल गर्ने तयारी गरिएको छ ।

प्रधानमन्त्री र  चान्सलरबीच द्विपक्षीय, क्षेत्रीय र विश्वस्तरीय महत्त्वका विभिन्न विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ । 

भारत–जर्मनी रणनीतिक साझेदारी साझा मूल्य–मान्यता, विश्वास र पारस्परिक समझदारीमा आधारित छ। सुदृढ लगानी र व्यापारिक सम्बन्ध,  हरित र दिगो विकासमा सहयोग र बढ्दो जनस्तरीय सम्बन्धले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाएको दुवै पक्षको बुझाइ छ । चान्सलर स्कोल्जको भ्रमणले दुबै पक्षलाई छैठौं आइजिसीको मुख्य नतिजाहरूको विकसित विषयबारे भएको प्रगति, सुरक्षा र रक्षा सहयोगलाई सुदृढ गर्ने, दुवै पक्षका लागि आर्थिक सम्बन्धका लागि काम गर्ने, अवसर बढाउने लगायतका विषषमा छलफल गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

चान्सलर स्कोल्जले राष्ट्रपति द्रौपदी मुर्मूलाई भेट्ने कार्यक्रम छ । उनलाई राष्ट्रपति भवनको प्रांगणमा औपचारिक स्वागत गरिने कार्यक्रम तय भएको छ ।  
 

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  ०५:४५
प्रतिक्रिया दिनुहोस्