फिलिपिन्समा विमान बेपत्ता, खोजी जारी

आइतबार, फागुन ७, २०७९

मनिला– एउटा सानो विमान मध्य फिलिपिन्समा बेपत्ता भएको छ । चारजना सवार उक्त विमानको उद्धारकर्मीहरूले खोजी गरिरहेको त्यहाँको नागरिक उड्डयन कार्यालयका एक अधिकारीले बताएका छन् । 

नागरिक उड्डयन कार्यालयका अनुसार विमान चालक, चालक दलका अर्का एक सदस्य र दुई जना यात्री विमानमा सवार थिए । सेस्ना ३४० विमान राजधानीको दक्षिणमा अवस्थित बिकोल अन्तर्राष्ट्रिय विमानस्थलबाट मनिलाका लागि उडेको केही समयपछि शनिबार बिहानदेखि वेपत्ता भएको थियो । 

स्थानीय खोज तथा उद्धार टोलीले विमानस्थल नजिकै सम्भावित दुर्घटनास्थल पहिचान गरेको नागरिक उड्डयन कार्यालयका प्रवक्ता एरिक अपोलोनियोले एएफपीलाई बताएका छन् ।

प्रतिकूल मौसमका कारण खोजीमा कठिनाइ भएको छ । फिलिपिन्सको उत्तरी प्रान्त इसाबेलामा सेस्ना विमान दुर्घटना भएको एक महिनाभन्दा कम समयमा फेरि यो अर्को विमान बेपत्ता भएको हो । 
 

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  १३:३९
प्रतिक्रिया दिनुहोस्