वीर अस्पतालमा बर्न वार्ड सञ्चालन गरिने

शनिबार, फागुन ६, २०७९

काठमाडौैँ– वीर अस्पतालमा ‘बर्न वार्ड’ सञ्चालनमा आउने भएको छ । 

वीर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा सन्तोष पौडेलले तीन महिनाभित्रमा सो वार्ड सञ्चालनमा ल्याउने बताए । विसं २०७२ को भूकम्पले वार्ड रहेको भवन भत्किएपछि सेवा बन्द भएको थियो ।

‘तीन महिनाभित्र बर्न वार्डसहित सघन उपचार कक्ष (आइसियू), शल्यक्रिया कक्ष हामीले सञ्चालन गर्नेछौँ,’ उनले भने, ‘अब जलन भएका बिरामीको उपचार गर्नेछौँ ।’

अस्पतालले नयाँ भवनबाट वार्ड सञ्चालन गर्नेछ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले शुक्रबार डा पौडेललाई अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन् ।

यसअघि कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को निमित्त कार्यकारी अधिकारीको जिम्मेवारी डा भूपेन्द्र बस्नेतले पाएका थिए ।

प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९  ०९:४३
प्रतिक्रिया दिनुहोस्