द्वन्द्वका कारण ६० हजार सोमाली घर छोडेर हिँडे, कतिपय बाटामै छुटे

शुक्रबार, फागुन ५, २०७९

मोगादिसु–उत्तरी सोमालियाको लास एनोडमा सुरक्षा बल र जातीय समुदायका नेताहरूबीचको झडपपछि पछिल्ला केही हप्ताहरूमा ६० हजारभन्दा बढी सोमालीहरू इथोपिया पलायन भएका छन् ।  

द्वन्द्वको चपेटामा परेर पलायन हुनेहरूमा प्रायः महिला र बालबालिकाहरू रहेको संयुक्त राष्ट्रसंघको शरणार्थी निकायले शुक्रबार जनाएको छ । 

युनएचसीआरले फेब्रुअरीको शुरुदेखि लास अनोड शहर र यसको वरपरका क्षेत्रहरूबाट एक लाख ८५ हजारभन्दा बढी मानिसहरू विस्थापित भएको  जनाएको छ । यसले सबै पक्षहरूलाई नागरिकहरूको सुरक्षाको सम्मान गर्न आह्वान गरेको छ । साथै, नव विस्थापितहरूको आवश्यकताहरू पूरा गर्न थप सहयोगका निम्ति अनुरोध पनि गरेको छ।

राहतका सीमित विकल्पहरूका बीच नव विस्थापित शरणार्थी परिवारहरूले विद्यालय र अन्य सार्वजनिक भवनहरूमा आश्रय लिन वाध्य छन् ।   तिनीहरूलाई तत्काल पानी र खानाको आवश्यकता छ रहेको युएनएचसीआरले उल्लेख गरेको छ ।

लस अनोड शहरमा द्वन्द्व र असुरक्षाबाट जोगिएका ६० हजार सोमालीहरूमध्ये आधाभन्दा बढी यसअघि  नै इथियोपिया पुगिसकेका छन् ।  

युएनएचसीआरका अनुसार द्वन्द्वबाट भागेकाहरू थकित र आघातग्रस्त देखिन्छन् । उनीहरू सुरक्षित स्थानमा पुग्न यातायात भाडाका लागि आफूसँग भएका सामानहरू बेच्न वाध्य छन् भने कतिपयले विभिन्न स्थानका झडपमा आफ्ना प्रियजनहरू समेत गुमाएका छन् । कतिपय बाटामै छुटेका छन् । परिवार क्षतविक्षत बएको छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  २१:११
प्रतिक्रिया दिनुहोस्