समनपुरमा नेपाल–अंग्रेज युद्धको सम्झनामा ऐतिहासिक मेला हुने

सोमबार, फागुन १, २०७९

गौर– रौतहटको समनपुरमा आगामी फागुन १९ देखि २३ गतेसम्म ‘फागु बैरिया मेला’ हुने भएको छ। 

आइतबार पत्रकार सम्मेलन गरी गढीमाई नगरपालिकाका नगर प्रवक्ता दीपेन्द्र श्रेष्ठले फागुन १९ देखि २३ गतेसम्म ‘फागु बैरिया मेला महोत्सव’ हुने जानकारी दिएका हुन् । 

गढीमाई नगरपालिकाको समनपुरमा प्रत्येक वर्ष नेपाल–अंग्रेज युद्धसित सम्बन्धित ऐतिहासिक मेला लाग्ने गरेको छ । सोह अवसरमा ‘फागु बैरिया मेला’ हुन लागेको हो । 

नगर प्रवक्ता श्रेष्ठका अनुसार कुनै समय नेपाल र अंग्रेजबीच भएको युद्धमा समनपुरवासीले अंग्रेजलाई परास्त गरेको अवसरमा समनपुरमा प्रत्येक वर्ष अहिलेको समय मेला लाग्दै आएको छ । उनले सन् १८१४ मा नेपाल–अंग्रेजबीच भएको युद्धमा स्थानीय समनपुरवासीले अंग्रेजलाई धपाएका थिए भने धेरै हातहतियार समेत खोसेको इतिहास रहेका जानकारी दिए ।

समनपुरमा लाग्ने मेलामा विभिन्न गाउँ र जिल्लाबाट सर्वसाधारण पुग्ने गरेका छन् । अंग्रेजबाट खोसिएको हातहतियार अहिले पनि सुरक्षित राखिएको गढीमाई नगरपालिकाले जनाएको छ । 

ऐतिहासिक दिनको सम्झना, संरक्षण र प्रचार गर्न र स्थानीय संस्कृतिको संरक्षण गर्न मेला आयोजना गरिँदै आएको छ । साथै, स्थानीय खानाको प्रवर्धन गर्न र स्थानीय व्यवसायको विकास गर्नसमेत मेला प्रभावकारी हुने श्रेष्ठले बताए ।

गढीमाई नगरप्रमुख श्याम यादवका अनुसार मेलामा विभिन्न झाँकी तथा प्रदर्शनी, विभिन्न व्यावसायिक स्टलहरू, सांगीतिक तथा सांस्कृतिक कार्यक्रमहरू, व्यापार, व्यवसाय, स्थानीय खानाका विविध परिकारको प्रदर्शनी तथा बिक्रीको आयोजना गरिने छ । पाँच दिनसम्म चल्ने होलीका सरसामान किन्नेका लागि मेला पहिलो रोजाइमा पर्ने देखिएको छ। मेलामा होलीका लागि अत्यावश्यक सरसामान किन्नुपर्ने भएकाले मेलामा आउनेको संख्यामा अत्यधिक हुने नगरप्रमुख  यादवले बताए ।

पर्सा, बारा, रौतहट, सर्लाही लगायत मधेश प्रदेशका विभिन्न ठाउँबाट हजारौं पसले तथा विभिन्न खेलतमासा मेलामा पुग्ने गरेका छन्। 

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  १८:२७
प्रतिक्रिया दिनुहोस्