नेभिगेशन
समाज विविध

आर्थिक र विकास साझेदारी सुदृढ गर्न नेपाल–भारत सहमत

काठमाडौँ –नेपाल–भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सोमबार सम्पन्न भएको छ ।

होटेल याक एन्ड यतीमा भएको बैठकमा समग्र क्षेत्रको हितका लागि आर्थिक र विकास सहयोगलाई थप सुदृढ गर्न बैठकमा दुवै पक्ष सहमत भएका छन् ।

यस्तै, प्रतिनिधिमण्डलस्तरीय वार्तामा दुई देशको सहकार्यका अलावा बीबीआइएन (बंगलादेश, भुटान, भारत र नेपाल) बीचको उपक्षेत्रीय सहकार्यबारे पनि छलफल भएको छ । 

बीबीआइएन उपक्षेत्रीय पहल भनिने उक्त मञ्चले कनेक्टिभिटी, विद्युत् व्यापार र आर्थिक क्षेत्रमा सहकार्य गर्न जोड दिँदै आएको छ ।  

परराष्ट्र मन्त्रालयका अनुसार नेपाल र भारतका विदेश सचिवबीच कनेक्टिभिटी, व्यापार तथा पारवहन, जलविद्युत् क्षेत्रमा सहकार्य, कृषि, शिक्षा, संस्कृति, स्वास्थ्य र जनस्तरको संबन्धका क्षेत्रमा जारी सहकार्यको समीक्षा भएको छ ।  

दुई देश तथा समग्र क्षेत्रकै हितका लागि आर्थिक तथा विकास साझेदारी थप सुदृढ गर्ने सहमति भएको भारतीय राजदूतावासले ट्विटरमार्फत् जनाएको छ ।

दूतावासका अनुसार परराष्ट्र सचिवस्तरीय वार्तामा दुई देश र समग्र क्षेत्रको हितका लागि आर्थिक र विकास सहकार्यलाई थप सुदृढ गर्न दुवै पक्ष सहमत भएका छन् । 

द्वीपक्षीय परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा नेपालका परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका विदेश सचिव विनयमोहन क्वात्राको नेतृत्वमा ७–७ जनाको टोली उपस्थित थियो ।

भारतीय विदेश सचिव क्वात्रा २ दिने औपचारिक भ्रमणका लागि सोमबार नै काठमाडौं आइपुगेका हुन् । 

क्वात्रासँगै भारतीय विदेश मन्त्रालयको नेपाल र भुटान हेर्ने डिभिजनका सहसचिव अनुराग श्रीवास्वसहितका अधिकारी पनि आएका छन्। बैठकमा परराष्ट्रको दक्षिण एसिया डिभिजन प्रमुख रामप्रसाद सुवेदीसहितका अधिकारी सहभागी थिए । 

विदेशसचिव क्वात्रा प्रधानमन्त्री प्रचण्डलाई भारतको औपचारिक भ्रमणका लागि औपचारिक निमन्त्रणा दिन र द्विपक्षीय विषयमा कुराकानी आएका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चार दिन प्रि-बजेट छलफल हुने