ए डिभिजनका लागि विदेशी खेलाडीको कोटा बढाउन एन्फा सहमत

बिहीबार, माघ २६, २०७९

काठमाडौँ– सहिद स्मारक ए डिभिजन लिगका लागि विदेशी खेलाडीको कोटा बढाउन अखिल नेपाल फुटबल संघ (एन्फा) सहमत भएको छ ।

नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका दर्जनौँ खेलाडी विदेश पलायन भएसँगै ए डिभिजन लिगका क्लबहरूले बजारमा खेलाडी अभाव देखाउँदै विदेशी खेलाडीको कोटा बढाउन गरेको मागलाई एन्फाले सम्बोधन गरेको हो ।

ए डिभिजनका अधिकांश क्लबले आफूहरूलाई खेलाडी अभाव रहेको भन्दै विदेशी खेलाडीको कोटा थप्न माग गर्दै एन्फामा यसअघि पत्र बुझाएका थिए ।

खेलाडी थप गर्ने मागलगायत सहिद स्मारक ए डिभिजन लिग सञ्चालन सम्बन्धमा बुधबार बसेको बैठकले खेलाडी कोटा बढाउने निर्णय गरेको एन्फाका प्रवक्ता सुरेश साहले बताए ।

अनुभवी खेलाडी पाउन मुस्किल भएको भन्दै क्लबहरूले कोटा थप्न माग गरेअनुसार अब क्लबले ५ जना विदेशी खेलाडी टिममा समावेश गर्न पाउने साहले जानकारी दिए ।

उनले टिममा एकजना एसियाली र एकजना दक्षिण एसियाका खेलाडी अनिवार्य गरिएको पनि बताए । १ खेलमा ४ विदेशी खेलाडी खेल्न पाउने प्रावधान एन्फाले ल्याएको छ ।

राष्ट्रिय टिमका अधिकांश खेलाडी विदेश गएको र बजारमा समेत राम्रा खेलाडी पाउन नसकिएको भन्दै विदेशी खेलाडीको कोटा बढाउन ए डिभिजनका ११ वटा क्लबले सामूहिक रूपमा आफ्नो मागसहितको पत्र लिग निर्देशक सञ्जीव मिश्रलाई बुझाएका थिए । पछिल्लो समय राष्ट्रिय फुटबल टिमका अधिकांश खेलाडी अस्ट्रेलिया पुगेका छन् ।

सहिद स्मारक ए डिभिजन लिगमा यसअघि हरेक क्लबले ४ जना विदेशी खेलाडी राख्न पाउने प्रावधान थियो । विदेशी खेलाडीको कोटा थप भएसँगै सुरुआती ११ मा ४ जना विदेशी खेलाडी राख्न पाइनेछ । एकजना विदेशी खेलाडी भने बेन्चमा रहनेछन् ।

नयाँ सिजनको ए डिभिजन लिग फागुन १९ गते सुरु हुँदै छ । लिग डबल राउन्ड रोविनका आधारमा हुनेछ । लिगका लागि पाँचौँ चरणसम्मको तालिका पनि सार्वजनिक भइसकेको छ ।

सार्वजनिक तालिकाअनुसार उद्घाटन खेल खुमलटार युथ क्लब र फ्रेन्डस् क्लबबीच हुनेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १६:१०
प्रतिक्रिया दिनुहोस्