लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको उपनिर्वाचन जारी

बुधबार, माघ २५, २०७९

दाङ–लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको उपनिर्वाचन सुरु भएको छ । बिहान १० बजे देखि घोराहीमा सुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहने छ । 

रुपन्देहीका राष्ट्रियसभा सदस्य एमालेका खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिए पछि उक्त पद रिक्त भएको थियो ।  सोही उक्त पदका लागि उपनिर्वाचन भइरहेको हो ।

निर्वाचनमा ३ जना उम्मेदवारबीच प्रतिष्पर्धा भइरहेको । सत्ता गठबन्धनका तर्फबाट एमालेका कुमार दसौँदी चुनावी मैदानमा उत्रिएका छन् । यसैगरी कांग्रेसका तर्फबाट माधव प्रसाद आचार्य मैदानमा छन् भने सत्तागठबन्धनको समर्थनमा रहेको नागरिक उन्मुक्ती पार्टीले पनि राजेन्द्रबिर रायलाई उम्मेदवार बनाएको छ ।  

प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने यो निर्वाचनमा प्रदेशका ८७ प्रदेशसभा सदस्य र १०९ स्थानीय तहका २१८ जना प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन् । मतदान सकिए लगत्तै मत गणना हुने निर्वाचन कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १२:३६
प्रतिक्रिया दिनुहोस्