‘सहिदको सम्मानमा बलिदान होइन, योगदान गरौँ’

सोमबार, माघ १६, २०७९

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले बलिदान नभई देशका लागि योगदान गर्नेतर्फ पाइला अग्रसर हुनुपर्ने बताएका छन् । 

सोमबार सहिद दिवसको अवसरमा लेनचौरस्थित सहिद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

अमर सहिदहरूको त्याग र बलिदानले नै आज स्वतन्त्र, स्वाधीन र सार्वभौम राष्ट्र नेपालका नागरिकका रूपमा विश्वसामु परिचित हुन पाएको उनको भनाइ थियो । 

उनले सहिदहरूले आफ्ना सन्ततिको उज्ज्वल भविष्यका लागि प्राण आहुति गरेको भन्दै अबका दिनमा हरेक नेपालीले बलिदान नभई देशका लागि योगदान गरेर देखाउनुपर्ने बताए ।

सहिदहरूले भावी सन्ततिका लागि सुनौलो सपना देखेर आफ्नो बलिदान दिएकाले सहिदहरूको सपनालाई पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्व अहिलेको पुस्ताको भएको उनको भनाइ छ ।

शान्त, समृद्ध र विकसित नेपाल बनाउन सके मात्रै अमर सहिदहरूको आत्माले शान्ति पाउने उनले बताए ।

मेयर साहले अमर सहिदहरूको सपना साकार पार्न सबैले आ–आफ्नो ठाउँबाट कर्तव्य र दायित्व पूरा गर्नुपर्ने पनि बताए ।
 

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १०:३६
प्रतिक्रिया दिनुहोस्