प्रेम आचार्यको परिवारलाई भेटेर गृहमन्त्रीले भने-

'म पनि उहाँजस्तै दिक्क भएर राजनीतिमा आएको हुँ'

बुधबार, माघ ११, २०७९

काठमाडौँ– गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई भेटेर सहानुभूति प्रकट गरेका छन् । 

मंगलबार दिउँसो नयाँ बानेश्वस्थित संसद् भवनअगाडि आफ्नै शरीरमा आगो लगाएर आत्मदाह प्रयास गरेका आचार्यको बुधबार बिहान उपचारकै क्रममा मृत्यु भएको थियो । 

बुधबार दिउँसो गृहमन्त्री लामिछाने कीर्तिपुरस्थित अस्पतालमा पुगेर आचार्यकी पत्नी नानुका आचार्य र परिवारका अन्य सदस्यलाई भेटेर दुःख व्यक्त गरेका हुन् । 

भेटमा मन्त्री लामिछानेले प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्ने आश्वासनसमेत दिएका छन् ।

आफ्नो शरीरमा आगो लगाउनुअघि आचार्यले फेसबुकमा लामो स्टाटस लेखर आत्मदाह गर्न बाध्य हुनुको कारण उल्लेख गरेका छन् । त्यसमा उनले राज्यलाई दोष देखाउँदै आफू मर्न बाध्य हुनुपरेको उल्लेख गरेका छन् । 

परिवारसँगको भेटमा मन्त्री लामिछानेले आफू पनि त्यस्तै कुराहरूबाट दिक्क भएर राजनीतिमा आएको र सुधारको प्रयास गरिरहेको बताए । 

‘अहिले दुःखको बेला, अहिले धेरै भन्ने पक्षमा म पनि छैन । यिनै कुराबाट दिक्क भएर नै केही गर्नुपर्छ भनेर म राजनीतिमा आएको हुँ । नयाँ छु, समय लाग्न सक्छ’, लामिछानेले भने । 

आचार्यले उठाएका विषयमा छानबिन गर्ने पनि लामिछानले आश्वासन दिएका छन् । 

‘सबै चिजमा म तुरुन्त छानबिन गर्नेछु । हामीबाट भएका कमी कमजोरी पनि हामी हेर्नेछौँ । हामीले छानबिन गर्ने विषयमा छानबिन गर्नेछौँ । म गम्भीर भएर काम गर्नेछु, म भएकै काममा भाग बन्न आएको होइन’, लामिछानेले भने । 

गृहमन्त्री लामिछानेले मन्त्री भएर सुरुमै आशा जगाउन नसकेकामा क्षमा मागेका छन् । 

गृहमन्त्रीसँगको भेटमा मृतककी पत्नी नानुकाले आफ्ना छोराछोरीको भविष्य सुरक्षित गरिदिन माग गरेकी छिन् । 

त्यसबाहेक उनले बालबालिकाको शिक्षा सुनिश्चित गर्न, आफूलाई सक्ने रोजागारी दिन र पतिले लिएको ऋण सरकारबाट तिरिदिन पनि आग्रह गरेकी छिन् । 

देशमै केही गरौँ भन्ने मान्छेलाई भ्रष्टाचारमा लिप्त प्रशासन र सरकारकै कारण मर्न बाध्य पारेको मृतककी पत्नी आचार्यले बताइन् । 

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १६:२३
प्रतिक्रिया दिनुहोस्