माओवादीले प्रधानमन्त्रीका लागि बार्गेनिङ गरिरहँदा कांग्रेसले पनि एमालेसँग गठबन्धन गर्ने सम्भावना!

बिहीबार, मंसिर २२, २०७९


काठमाडौँ–मङ्सिर ४ को निर्वाचनको सबै मत परिणाम आइसक्दा संसदको संरचना लगभग स्पष्ट भएको छ । अन्तिम मतपरिणामअनुसार प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र मध्ये ५७ सिट जित्दै नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ भने ४४ सिट जितेको नेकपा एमाले दोस्रो दल बनेको छ ।

यद्यपी अहिले समानुपातिकको मतपरिणाम आएको छैन । समानुपातिकको परिणाम आएपछि मात्रै दलहरूले पाउने सिट सङ्ख्याको निक्र्यौल हुनेछ ।


९१ निर्वाचन क्षेत्रमा चुनाव लडेको कांग्रेसले ५७ क्षेत्रमा चुनाव जितेको हो । दोस्रो स्थानमा रहेको एमालेले ४४ तथा नेकपा माओवादी केन्द्रले १८ सिट जित्दा नेकपा एकीकृत समाजवादीले १० सिट जितेको छ । 


समानुपातिकमा एमालेले ३४ सिट पाउने देखिन्छ भने कांग्रेसले ३२ सिट पाउने सम्भावना छ । यसरी प्रतिनिभिसभामा कांग्रेसको ९० सिट हुने देखिन्छ भने एमाले ८० तथा माओवादी केन्द्र ३३ सिट तथा राष्ट्रिय स्वतन्त्र पार्टी २१ सिटको बन्ने देखिन्छ । 


यद्यपी संसदमा प्रतिनिधित्व गर्ने दलहरूको स्पष्ट खाका नआए पनि गठबन्धनमा आवद्ध दलहरू बहुमत नजिक छन् । गठबन्धनमा कांग्रेससहित माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा छ । उनीहरूसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि चुनावी गठबन्धन गरेको थियो । दलगत सिट सङ्ख्या सार्वजनिक नहुँदै दलहरू भने सरकार गठनको जोडघटाउमा लागिसकेका छन् । सत्तागठबन्धन र गठबन्धन इतर दलहरूले पाएको सिट संख्याका आधारमा सहज रूपमा सरकार बन्ने अवस्था देखिँदैन । 


वर्तमान सत्ता गठबन्धन सरकार बनाउने तयारीमा जुटेको छ भने अर्को तर्फ एमाले पनि च्याखे थापेर बसेको छ । गठबन्धनमा रहेका दलहरूबीच हुने असमझदारीको फाइदा उठाएर सरकार बनाउने रणनीति एमालेको छ । सरकार बनाउने तयारीमा जुटेको सत्तागठबन्धनले सीके राउतको जनमत पार्टीलाई पनि गठबन्धनमै जोडेर सत्ता समीकरण बनाउने कसरत गरिरहेको छ ।
मधेस प्रदेशको सत्तामा आफ्नो हिस्सा सुनिश्चित गर्ने पक्षमा देखिएका राउत पनि प्रधानमन्त्री देउवासहित लगभग सबै शीर्षस्थ नेताहरूलाई भेटि सकेका छन् ।


तर, सत्ता गठबन्धनमा कांग्रेस वा माओवादी केन्द्र कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा पनि ती दलहरूभित्र सहमति बनेको छ । दुवै दलले प्रधानमन्त्रीमा दाबी गरिरहेका छन् । त्यसो त कांग्रेसमा प्रधानमन्त्रीका धेरै आकांक्षी देखिएका छन् ।  सभापति शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शेखर कोइराला र महामन्त्री गगन थापा प्रधानमन्त्रीको दौडमा छन् । तर, माओवादी केन्द्रमा भने अध्यक्ष प्रचण्ड एकल आकांक्षी हुन् ।


माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री बन्ने दौडलाई तिव्रता दिँदा वर्तमान गठबन्धन रहन्छ अथवा रहँदैन भन्ने प्रश्न पनि उठेको छ । कांग्रेस ठूलो पार्टी बनेको अवस्थामा संसदको तेस्रो दललाई प्रधानमन्त्रीको पद दिन उसलाई सहज छैन ।

यस्तो अवस्थामा गठबन्धन भत्किनसक्ने सम्भावना पनि रहेको छ । माओवादीका केही नेताहरूले पार्टीले प्रधानमन्त्री नपाए एमालेसँग गठबन्धन गरेर अघि बढ्न पनि सुझाएका छन् । माओवादीले प्रधानमन्त्रीका लागि बार्गेनिङ् गरिरहदा कांग्रेसले पनि एमालेसँग गठबन्धन गरेर सरकार बनाउने प्रयास गर्न सक्छ ।


सात पटक प्रधानमन्त्री बन्ने सपना बोकेका कांग्रेस सभापति देउवा तेस्रो बनेको दल माओवादीलाई सत्ताको वागडोर सुम्पन तयार देखिँदैन । यस्तो अवस्थामा कांग्रेस र एमालेबीच सहकार्य हुन सक्ने सम्भावना पनि बलियो छ । त्यसैले एमालेका दोस्रो तहका नेताहरूले पनि एमाले–कांग्रेसको सरकारलाई पनि जोड दिइरहेका छन् ।

कांग्रेसले प्रधानमन्त्री पद आफूहरूलाई नदिने माओवादी केन्द्रका नेताहरूले बुझिसकेका छन् । त्यसैले उनीहरू नयाँ समीकरणको खोजीमा छन् र एमालेको साथ खोजेका छन् ।


माओवादीले वर्तमान गठबन्धनको विकल्प खोजे एमालेसँग गठबन्धन गरेर कांग्रेस अघि बढ्ने सम्भावनालाई लिएर चर्चा सुरु भएको छ । निर्वाचन परिणाम सार्वजनिक भएपछि आजसम्म एमाले–कांग्रेस औपचारिक छलफल भएको छैन । तर केही लिन अघि कांग्रेस नेता प्रकाशान सिंहले एमाले अध्यक्ष केपी ओलीलाई उनकै निवासमा भेटेका थिए । एमालेका केही नेताहरूले पनि राजनीतिक संकटको जटिलतालाई हल गर्न कांग्रेस–एमाले सरकारमा जोड दिँदै आएका छन् । 

 

प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  ११:२९
प्रतिक्रिया दिनुहोस्