आईसीसी टी–२० विश्वकपः बंगलादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ– आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटमा बंगलादेशलाई पाँच विकेटले पराजित गर्दै पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ । बंगलादेशले प्रस्तुत गरेको १२८ रनको लक्ष्य पाकिस्तानले १८ ओभर १ बलमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो । पाकिस्तान ग्रुप २ को उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो । पाकिस्तानले ५ खेलमा ६ अंक जोड्यो । शीर्ष स्थानको भारतको ४ खेलमा ६ अंक छ । पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवानले ३२ बलमा २ छक्का र १ चौकाको मद्दतमा ३२ रनको योगदान गरे । मोहम्मद हरिसले १८ बलमा १ चौका र २ छक्का मद्दतमा ३१ रन बनाए । यसैगरी कप्तान बाबर आजमले २५ र सान मसुदले अविजित २४ रन जोडे । बंगलादेशका लागि मुस्ताफिजुर रहमान, साकिब अल हसन, नासुम अहमेद र एबादत हुसेनले समान १ विकेट लिए । समूह चरणको अन्तिम खेलमा टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय २७ रनको योगफल खडा गरेको थियो । बंगलादेशका लागि ओपनर नाजमुल हुसेन सान्टोले ४८ बलमा ७ चौका मद्दतमा ५४ रन जोडे । त्यस्तै अफिफ हुसैनले नटआउट २४ र सौम्य सरकारले २० रन जोडे । पाकिस्तानका साहिन शाह अफ्रिदीले ४ र सदाब खानले २ विकेट लिएका थिए ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १६:३९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार