नेभिगेशन
समाचार

आजदेखि मंसिर १ गतेसम्म निर्वाचन प्रचारप्रसार खुला

काठमाडौं । निर्वाचन आयोगले आजदेखि निर्वाचन प्रचारप्रसार गर्न खुला गरेको छ । आजदेखि उम्मेदवारहरुले मंसिर १ गतेसम्म आमसभा, जुलुस, कोणसभा लगायतको कामहरु गर्न पाइने आयोगले जनाएको छ ।

आयोगले हिजेसम्म उम्मेदवारलाई २५ जनाभन्दा कम मानिस लिएर घरदैलो कार्यक्रम गर्न दिएको थियो । आजदेखि भने खुला कार्यक्रम गर्न छुट दिएको छ । आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ ।

चुनाव प्रचारका लागि दलका शीर्ष नेताहरु देश दौडाहामा छन् । प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेलधुरा गएका छन् । भोलि १८ गतेदेखि एमालेले दार्चुलाबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी गरेको छ ।

एकाले र कांग्रेसका नेताहरुलाई सरकारी स्रोतसाधन दुरुपयोग नगर्ने गरी आयोगले चुनाव प्रचारमा हेलिकोप्टर प्रयोगको अनुमति दिएको छ । केपी ओली र देउवालाई चुनाव प्रचारप्रसारको मुख्य साधनको रुपमा हेलिकोप्टर प्रयोगको अनुमति दिएको छ ।

निर्वाचन आचारसंहितामा मुख्य प्रचारकले मात्र हेलिकोप्टर प्रयोग गर्न पाउने व्यवस्था छ । हेलिकोप्टर प्रयोग पनि आयोगले तोकेको खर्चको सीमाभित्र रहेर गर्नुपर्ने हुन्छ ।

प्रधानमन्त्री र मन्त्री आफ्नो क्षेत्रबाहेक अर्को क्षेत्रमा चुनाव प्रचार गर्न जानु परेमा आयोगबाट अनुमति लिनुपर्दछ । मन्त्री नै उम्मेदवार भए सरकारी स्रोत साधन प्रयोग नगरी चुनाव प्रचार गर्न पाइन्छ। स्थानीय तहका जनप्रतिनिधि भने चुनाव प्रचारमा संलग्न हुन पाइँदैन ।

आम सभासहितको चुनाव प्रचार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मात्र गर्न पाइने प्रमुख निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारहरुले आफ्नो चुनावी घोषणा पत्रमा उल्लेख भएका बाहेक अन्य आश्वासन, प्रलोभन दिनसमेत पाउँदैनन् । आयोगले आचारसंहिता उल्लंघन नगरी र खर्चको सीमाभित्र रही चुनाव प्रचार गर्न राजनीतिक दल र उम्मेदवारहरुलाई स्मरण गराएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार