नेभिगेशन
समाचार

विना मगरलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ– निर्वाचन आयोगले कञ्चनपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका लागि नेकपा (माओवादी केन्द्र) का उम्मेदवार विना मगरलाई स्पष्टीकरण सोधेका छ । आयोगले २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको सम्बन्धमा स्पष्टीकरण सोेधेको हो । मगरले निर्वाचन क्षेत्र अन्तर्गतको बेलौरी नगरपालिकामा निर्वाचन आचारसंहिता विपरीत हुनेगरी २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको र उक्त विषय आफ्नै फेसबुक पेजबाट समेत सार्वजनिक भएको विषयमा उजुरी परेकाले स्पष्टीकरण सोधिएको हो । निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (ख) मा “स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा वा भेला गर्न नहुने” र खण्ड (ण) मा “निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा वा प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थक सहित पच्चीस जना भन्दा बढीको जुलुस लिएर जान नहुने र यसरी जाँदा बाजागाजा तथा झाँकी सहित जान नहुने” व्यवस्था छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार