नेभिगेशन
समाचार

निर्वाचन निष्ठालाई जोगाएर आचारसंहिताको पालना गर्न दल र उम्मेदवारलाई प्रमुख निर्वाचन आयुक्तको आग्रह

काठमाडौँ– प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनको निष्ठालाई जोगाएर आचारसंहिताको पालना गर्न दल र उम्मेदवारलाई आग्रह गरेका छन। आयोगमा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले आचारसंहिता कार्यान्वयन तथा अनुगमनमा विभिन्न संयन्त्रहरू परिचालन गरिरहेको उल्लेख गरे । उनले दल तथा उम्मेदवारहरूलाई आचारसंहिता पालना गरेर त्यस्ता संयन्त्रहरू प्रयोजनहिन सावित गरिदिनसमेत आग्रह गरे। “आचारसंहिता आफैँमा एक नैतिक र कानूनी बन्धन हो । यस्तो बन्धन दल, उम्मेवार अन्य पक्षले नतोड्ने हो भने आयोग र राज्यका संयन्त्रले कारबाहीका लागि कुनै काम गरिरहनु पर्दैन,” प्रमुख आयुक्त थपलियाले भने, “पहिलो स्पष्टीकरणमा चित्त नबुझेमा दोस्रो स्पष्टीकरण सोध्ने र उल्लघंनको प्रमाण तथा अवस्था हेरेर सचेत, दण्ड जरिवाना तथा उम्मेदवारी खारेजीसम्मको निर्णयमा जानुपर्ने हुन्छ । हालसम्म चलेका स्पष्टीकरणबारे हामी यही कात्तिक २५ गतेभित्रै निर्णयमा पुग्नेछौँ ।” उहाँले निर्वाचनमा सबै पक्षको सहभागिता हुने आयोगको अपेक्षा रहेको र निर्वाचन बिथोल्न हुन सक्ने गतिविधिको नियन्त्रणका लागि सुरक्षा निकायसँग आवश्यक समन्वय भइरहेको बताउनुभयो । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि कात्तिक १७ गतेदेखि निर्वाचन प्रचारप्रसारको अर्को चरण शुरु हुँदैछ । निर्वाचन आचारसंहिता, २०७९ ले राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरेको छ । यस अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसार अन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था रहेको हुँदा कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म सोहीबमोजिम राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसार गर्न सक्ने व्यवस्था गरिएको छ । यस सन्दर्भमा आज निर्वाचन आयोगले माननीय प्रमुख निर्वाचन आयुक्त, माननीय निर्वाचन आयुक्तहरू, आयोगका श्रीमान् सचिवसमेतको उपस्थितिमा पत्रकार सम्मेलन गरी थप स्पष्ट पारेको छ । आचारसंहिता उल्लघंनका विषयमा हालसम्म ७१ वटा उजुरी परेको उल्लेख गदै उनले ती स्पष्टीकरणहरूका लागि आएको जवाफको अध्ययन गर्ने तथा तथ्य जुटाउने क्रम जारी रहेको बताए । उनले आयोगका निर्णय र कारबाहीबारे अदालतमा मुद्धा जाँदा पनि आयोगको निर्णय सदर हुने गरी सोचिरहेको स्पष्ट गरे । मतगणनास्थलमा तारजाली राख्नुपर्ने अवस्था लोकतन्त्रका लागि सुखद् नभएकाले त्यस्तो दुरावस्थाबाट सबै माथि उठ्न उनको आग्रह थियो । प्रमुख आयुक्त थपलियाले मतदानका दिन सवारी साधनको व्यवस्थित र नियन्त्रित सञ्चालनबारे सम्बन्धित निकायका प्रतिनिधिसहितको कार्यदलले काम गरिरहेको जानकारी दिए । दल र उम्मेदवारले तोकिएको मापदण्डका आधारमा पत्रपत्रिकाका साथै अनलाइन सञ्चारमाध्यममा पनि विज्ञापनबाट प्रचारप्रसार गर्न सक्ने स्पष्ट गरे । साथै निर्वाचन प्रचारप्रसारको स्वरुप फेरिएसँगै आचारसंहिता कार्यान्वयन र पालनामा थप सजगता अपनाउनुपर्ने देखिएको उल्लेख गर्दै देहाय बमोजिमको व्यवस्था मिलाइएको उल्लेख गरे।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार