नेभिगेशन
समाचार

काठमाडौँ-३ मा कांग्रेसको उम्मेदवारी निष्क्रिय नगरे माओवादीले सहयोग नगर्ने

काठमाडौँ। सत्ता गठबन्धनले काठमाडौं क्षेत्र नम्बर ३ को प्रदेशसभा क्षेत्र नम्बर २ मा मित्रवत प्रतिस्पर्धा गर्ने भनी जारी गरेको सर्कुलरप्रति नेकपा माओवादी केन्द्रको क्षेत्रीय समितिले असहमति जनाएको छ।

गठबन्धनका शीर्ष नेताहरुको बैठकले जारी गरेको आधिकारिक उम्मेदवारको सूचीमा काठमाडौं ३ मा प्रतिनिधिसभामा कांग्रेसका सन्तोष चालिसे र प्रदेशसभा १ मा कांग्रेसका छिरिङ दोर्जे लामाको नाम राखिएको छ।

त्यस्तै प्रदेशसभा क्षेत्र २ मा कांग्रेसका विमल ठकुरी र माओवादी केन्द्रका महेश्वर फुँयालबीच मित्रवत प्रतिस्पर्धा गर्ने भनिएको छ। गठबन्धनको सीट बाँडफाँटमा सो क्षेत्र माओवादीको भागमा परे पनि कांग्रेसले ठकुरीलाई उम्मेदवार बनाएपछि दोहोरो उम्मेदवारी छ।

नेकपा माओवादी केन्द्रको काठमाडौं क्षेत्र नम्बर ३ क्षेत्रीय कमिटीका इन्चार्ज समेत रहेका प्रदेशसभा उम्मेदवार महेश्वर फुयाल विवेकले प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले विमल ठकुरीको उम्मेदवारी निष्क्रिय बनाएर प्रदेशसभा २ मा माओवादी केन्द्रलाई समर्थन जनाएमात्र प्रतिनिधिसभा र प्रदेशसभा १ मा कांग्रेसलाई सघाउँन सकिने प्रष्ट पारेका छन्।

माओवादी केन्द्रबाट प्रतिनिधि सभामा बद्री बजगाई र प्रदेशसभा १ तर्फ कपिलमुनी उप्रेती उम्मेदवार छन् । गठबन्धनका शीर्ष नेताको बैठकले बजगाई र उप्रेतीको उम्मेदवारीलाई गठबन्धनको लिष्टमा नराखे पनि स्थानीय माओवादी नेतृत्वले मित्रवत प्रतिस्पर्धाका नाममा कांग्रेसलाई छाड्न नसकिने जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘यदि नेपाली कांग्रेसले सहमतिबेगर दर्ता गरेको प्रदेश क्षेत्र(२) को उम्मेदवारी फिर्ता लिन्छ भने माओवादी केन्द्र पनि संघ र प्रदेश (१) को उमेदवारी फिर्ता लिन तयार छ। यदि नेपाली कांग्रेसले मित्रवत प्रतिस्पर्धाका नाममा माओवादी केन्द्रको भागमा परेको प्रदेश(२) बाट आफ्नो उमेदवारलाई पुर्ण रूपमा निस्कृय गर्दैन हाम्रो ३ वटै सीटको उम्मेदवारी कायम रहनेछ र हामी तीनैजना भोट माग्दै मतदाताबीच सशक्त रुपमा जानेछौं।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार