नेभिगेशन
समाचार

कांग्रेसको घोषणापत्रः मतदाता फकाउने दस्तावेज, कार्यान्वयनमा शंका

काठमाडौँ– नेपाली कांग्रेसले आगामी मंसिर ४ को प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनलाईलक्षित गरी शनिबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्यो । घोषणापत्रमा कांग्रेसले मतदातालाई फकाउन सबै क्षेत्रको स–साना योजना र कार्यक्रमलाई समेटेको देखिन्छ । खासगरी, ६५ वर्षमै वृद्धभत्ता दिने, सुत्केरी भत्ता ५ हजार पुर्याउने, विपन्नलाई किरियाखर्चबापत १० हजार रुपैयाँ दिनेलगायतका दीर्घकालीन प्रभाव पार्ने र मतदातालाई मख्ख पार्ने केही प्रतिवद्धता समेत कांग्रेसले अघि सारेको छ । कांग्रेसले घोषणपत्रमार्फत अव्यवस्थालाई सुव्यवस्थामा बदल्ने प्रतिवद्धता समेत गरेको छ । ‘हरेक सार्वजनिक निकायका अधिकारीहरुले सम्पत्ति विवरण सार्वजनिक गर्ने बाध्यकारी कानुन जारी गर्ने छौँ ।’ घोषणापत्रमा भनिएको छ । चुनावपछि पनि नेपाली कांग्रेसकै नेतृत्वमा सरकार रहने गरी योजना र कार्यक्रम ल्याइएको छ । कांग्रेसको घोषणापत्रमा देशको वर्तमान आर्थिक अवस्थादेखि, सडक, पुल, रेलमार्ग निर्माण लगायतका योजना पनि समेटिएको छ । साक्षरता दर बढाउने, पाँच वर्षमा देशभरका ८० प्रतिशत विद्यालयमा इन्टरनेट सेवाको पहुँच पुर्याउने, पाँच वर्षभित्र सबै नागरिकमा स्वास्थ्य बीमाको पहुँच पुर्याउने, पाँच वर्षमा १२ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने लगायतका अपेक्षित र महत्वकांक्षी योजना समेटिएका छन् । त्यतिमात्र होइन्, कृषियोग्य जमिनको सदुपयोग गर्ने, बाँझो राख्न नपाउने र भूमि बैंकको स्थापना गरेर कृषि उत्पादकत्व बढाउने योजना समेत छ । पाँच वर्षमा प्रत्येक घरमा बिजुली, प्रत्येक घरमा पक्की छाना’ को नारा समेत घोषणापत्रमा राखिएको छ । भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, सञ्चार, प्रविधि, विज्ञान, खानेपानीलगायतका आधारभूत र महत्वपूर्ण योजना पनि घोषणापत्रमा छन् । कांग्रेसले घोषणापत्रमा कोखदेखि शोखसम्म भनेर बृहत लक्ष्यका रुपमा विभिन्न योजनाको दस्तावेज नै प्रस्तुत गरेको छ । सबै क्षेत्र र पक्षलाई कहीँ न कहीँ छोएर कांग्रेसले घोषणापत्र तयार गरेको छ । जनताको आधारभूत आवश्यकता देखि महत्वकांक्षी योजना समेत घोषणापत्रमा उल्लेख गरिएको छ । यसो भनिरहँदा, कांग्रेसको घोषणापत्रलाई मतदाता फकाउने एउटा दस्तावेज भन्दा फरक नपर्ला । पाँच दलीय गठबन्धन मिलेर आउँदो मंसिर ४ गतेको चुनावी मैदानमा छन् भने यता नेकपा एमालेले राप्रपाबीच चुनावी तालेमल गरेको छ । नेपाली कांग्रेसले सार्वजनिक गरेको घोषणापत्र र त्यसको कार्यान्वय चुनाव जितेपछि मात्र देखिनेछ । यदि, चुनाव जितेर कांग्रेस नेतृत्वको सरकार बन्यो भने पनि कांग्रेसले मात्र घोषणापत्रमा उल्लेखित योजना तथा कार्यक्रम अघि बढाउन सक्दैन । किनकी, सरकार गठबन्धनको हुन्छ । गठबन्धनमा अन्य चार दलले पनि आफ्नो चुनावी योजना र प्रतिवद्धता जनतामाझ पुर्याएर नै चुनाव जितेका हुन्छन । अन्य चार दललाई मनाएर कांग्रेस आफ्नो चुनावी घोषणापत्र पूरा गर्न सक्ला भन्नेमा पनि शंका नै रहन्छ । तसर्थ, कांग्रेस चुनावी घोषणापत्रमा सार्वजनिक गरिएका योजना तथा कार्यक्रम कार्यान्वयनमा पनि उत्तिकै चुनौती र शंका रहने निश्चित छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार