नेभिगेशन
विज्ञान प्रविधि

पोखराको यातायात प्रणाली सुधार्न कोरियाले सहयोग गर्ने

पोखरा–पोखराको सार्वजनिक यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाइने भएको छ । त्यसका लागि कोरियाले पहिलो चरणमा १५ लाख अमेरिकी डलर खर्च गर्ने भएको छ । पोखरा महानगरसँगको समन्वयमा कोरियाले सहयोग गर्न थालेको हो । कोरियाली विज्ञको टोली र पोखरा महानगरपालिकाबीच यसै विषयमा छलफल पनि भएको छ । छलफलमा पोखराको विद्यमान यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै हरियाली प्रवद्र्धन गर्ने उद्देश्य लिइएको छ । ५ दिन सम्म पोखरामा रहेको टोली पोखराको सार्वजनिक यातायात र यसको रुट तथा पूर्वाधारका विषयमा स्थलगत अध्ययन समेत गरेको छ । टोली प्रमुख रेलमार्ग अनुसन्धान संस्थान कोरियाका परियोजना प्रबन्धक जियोन ह्युन किमका अनुसार परियोजना अन्तरगत पोखराका ८४ वटा बस रुटमा १ हजार २ सय ८६ स्थानमा बसस्टप निर्माण गरिनेछ । यस्तै ३ स्थानमा बस टर्मिनल निर्माण गरिनेछ । पहिलो चरणमा खर्च गर्न थालिएको १५ लाख डलरको आधा रकम बस स्टप र बसमा मेसिन जडान गर्दा खर्च हुने किमले बताए । त्यस्तै पोखराको मुख्य पृथ्वीचोकलाई थप विस्तार समेत गरिने पनि उनले बताए । ३ चरणमा सम्पन्न गरिने यस परियोजनाको पहिलो चरणमा २०२५ सम्म सहरी यातायात व्यवस्थापनका लागि प्रारम्भिक काम गरिनेछ । यस्तै दोस्रो चरण सन् २०३० सम्म हरित यातायात प्रणालीको विकास गरिने छ भने तेस्रो चरण सन् २०३५ सम्म दिगो हरित यातायात प्रणालीको विकास गरिनेछ । विश्वमा भएको उत्कृष्ट सहरी यातायात व्यवस्थापनको नमूना पोखरामा हुने किमले विश्वास दिलाए । परियोजनाका क्रममा हाल नेपालमा रहेका सवारीको अवस्था र कोरियामा भइरहेको यातायात व्यवस्थापनको अनुभवलाई समेत प्रयोग गरिने छ । प्रविधिमैत्री बनिसकेपछि पोखरामा चल्ने सार्वजनिक यातायातको सेवाबारे हरेक नागरिकले डिजिटल माध्यमबाट जानकारी पाउनेछन् । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस परियोजनामार्फत् पोखरामा वातावरणमैत्री यातायात प्रणालीको विकासमा टेवा पुग्ने र बस चढ्ने यात्रुको संख्यामा वृद्धि हुनुकका सार्थै कार्बन उत्सर्जनमा न्यूनीकरण र सार्वजनिक यातायातको सम्पूर्ण जानकारी प्राप्तिमा यात्रुलाई सहजता पुग्ने विश्वास व्यक्त गरे ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्