नेभिगेशन
समाचार

कास्कीमा १६ जनाद्वारा उम्मेदवारी फिर्ता

पोखरा–कास्कीमा १६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । फिर्ता लिनेमा प्रतिनिधिसभातर्फ ७ र प्रदेशसभाका ९ जना छन् । कास्की निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका राप्रपा नेपालका महेन्द्र खत्री र स्वतन्त्रबाट घननाथ सापकोटा र आनन्द सापकोटाले उम्मेदवारी फिर्ता लिएका हुन् । यसैगरी निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा ‘क’ बाट भरतराज तिवारी र प्रदेश ‘ख’ बाट दिलमाया मुक्तान (पहारी) ले उम्मेदवारी फिर्ता लिएको र दुवै जनाले स्वतन्त्रमा उम्मेदवारी दिएको निर्वाचन अधिकृत विष्णुप्रसाद आचार्यले बताए । यसैगरी निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका राप्रपा नेपालका अजय विश्वकर्माले फिर्ता लिएको निर्वाचन अधिकृत दयाशंकर अधिकारीले बताए । उनका अनुसार क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ बाट जसपाका ईश्वरकुमार गुरुङ, राप्रपा नेपालका दीपक विश्वकर्मा र स्वतन्त्र उम्मेदवारी दिएका सुन्दर बरालले पनि उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका एमालेका बागी उम्मेदवार जगन्नाथ बास्तोला, राप्रपा नेपालका राजाराम दाहाल र स्वतन्त्रका एमकृष्ण पौडेलले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले बताए । निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश ‘क’ क्षेत्रबाट जसपा नेपालका जगतबहादुर गुरुङ र स्वतन्त्रबाट लीलाधर ढकाल र चन्द्रबहादुर गुरुङ एवं प्रदेश ‘ख’ बाट राप्रपा नेपालकी चीना दवाडीले उम्मेदवारी फिर्ता लिएका हुन् । निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनबाट नेकपा एसको भागमा परेपछि असन्तुष्ट कांग्रेस नेता महादेव गुरुङले भने उम्मेदवारी फिर्ता लिएनन् । यसैगरी सत्ता गठबन्धनबाट कास्की निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवारी दिएका माओवादी केन्द्रका रामजी बरालविरुद्ध बागी उम्मेदवारी दिएकी अनिता भुर्तेलले पनि उम्मेदवारी फिर्ता लिइनन् । योसँगै कास्की निर्वाचन क्षेत्र नं. १ प्रतिनिधिसभातर्फ १४ प्रदेशसभा ‘क’ मा ८ र ‘ख’ मा ७ उम्मेदवार कायम रहेका छन् । यसैगरी निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ १७, प्रदेशसभा ‘क’ मा ८, ‘ख’ मा ६ उम्मेदवार चुनावी मैदानमा छन् । त्यस्तै निर्वाचन क्षेत्र नं. ३ प्रतिनिधिसभातर्फ १५, प्रदेशसभातर्फ ‘क’ र ‘ख’ मा ७÷७ जना उम्मेदवार चुनावमा होमिएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार