नेभिगेशन
समाचार

बाँकेमा चुनावी चहलपहल सुरु

नेपालगंज–आगामी ४ मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारी मनोनयनसँगै बाँकेमा चुनावी चहलपहल सुरु भएको छ । राजनीतिक दलहरूले निर्वाचन क्षेत्रस्तरमा भेला, बैठक र चुनाव केन्द्रित गतिविधि सुरु गरेका छन् भने स्वतन्त्र उम्मेदवार पनि चुनावी प्रचारमा हिँडेका छन् । ३ सङ्घीय र ६ प्रदेश चुनाव क्षेत्र रहेको बाँकेमा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न दलहरूले चुनाव केन्द्रित अभियानसहित गतिविधि गरिरहेका छन् । चुनावलाई दृष्टिगत गरेर नेपाली कांग्रेसले चुनावी योजना तयार गरेको जिल्ला सभापति नारायण गौडेलले बताए । उनले गठबन्धनमा सहभागी दलहरूसँगको समन्वयमा बैठक गरी चुनावी गतिविधि सञ्चालनको तयारी गरेको बताए । चुनावलाई लक्षित गरेर एमालेले ३ वटै निर्वाचन क्षेत्रस्तरीय बैठक आयोजना गरी निर्वाचन परिचालन समिति गठन गरिसकेको छ । पार्टी अध्यक्ष किस्मतकुमार कक्षपतिका अनुसार पार्टी अभियान र चुनाव लक्षित योजनासहित पार्टीका सबै तहलाई क्रियाशील बनाउन निर्देशन गरिएको छ । जनता समाजवादी पार्टीले चुनाव केन्द्रित अभियानलाई तीव्रता दिएको छ । बाँके क्षेत्र नं २ बाट उम्मेदवार बनेका उक्त पार्टीका केन्द्रीय सचिव एवम् भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राईको उपस्थितिमै निर्वाचन केन्द्रित भेला, बैठक र प्रचारप्रसार भइरहेको जिल्ला सचिव राजेन्द्र विश्वकर्माले बताए । जिल्लामा सत्ता साझेदार गठबन्धनबाट बाँके क्षेत्र नं १ मा माओवादीबाट युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, क्षेत्र नं २ मा कांग्रेसका सुदीपनरसिंह राणा र क्षेत्र नं ३ मा किशोरसिंह राठौर उम्मेदवार बनेका छन् । यसैगरी नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गठबन्धनबाट क्षेत्र नं १ मा एमालेका सूर्य ढकाल, क्षेत्र नं २ मा राप्रपाका डा. धवलशम्शेर राणा र क्षेत्र नं ३ मा एमालेका किस्मतकुमार कक्षपति उम्मेदवार बनेका छन् । चुनावका लागि बाँकेमा ३ प्रतिनिधिसभा र ६ प्रदेशसभा गरी ९ सिटका लागि राजनीतिक दल र स्वतन्त्र रुपमा गरी ९९ जनाले उम्मेदवारी मनोनयन गरेर चुनावी प्रचारप्रसारमा लागेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार