नेभिगेशन
समाचार

चितवन–१ र ३ मा कांग्रेसका बागीले लिएनन् उम्मेदवारी फिर्ता

चितवन– चितवन– १ र ३मा कांग्रेसका बागी उम्मेदवारहरुले उम्मेदवारी कायम राखेका छन् । चितवन १ मा राजेन्द्र बुर्लाकोटी र चितवन ३ मा जगन्नाथ पौडेल कांग्रेसका बागी उम्मेदवार हुन् । चितवन १ मा कांग्रेसका बागी उम्मेदवार राजेन्द्र बुर्लाकोटीले उम्मेदवारी कायमै राखेका छन् । उम्मेदवारी फिर्ताका लागि निर्वाचन आयोगले बुधबार विहान १० देखि दिउँसो १ बजेसम्म समय निर्धारण गरेको थियो । आयोगले तोकेको समयभित्र उनले नाम फिर्ता लिएनन् । कांग्रेसले बागी उम्मेदवार बनेकालाई दिउँसो १ बजेभित्र नाम फिर्ता लिन निर्देशन दिएको थियो । बुर्लाकोटीलाई उम्मेदवारी फिर्ता गर्नका लागि सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, बागमती प्रदेश सभापति इन्द्र बानियाँले आग्रह गरेका थिए । नेपाली कांग्रेसले चितवन–१ मा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेललाई उम्मेदवार बनाएको छ । २०७४ सालको निर्वाचनमा नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेसँग पराजित बुर्लाकोटीले पार्टीले पौडेललाई उम्मेदवार बनाएपछि स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हुन् । यस्तै, चितवन क्षेत्र नं. ३ मा सत्ता गठवन्धनका विरुद्ध बागी उम्मेदवारी दिएका कांग्रेसका पूर्व सांसद जगन्नाथ पौडेलले पनि उम्मेदवारी फिर्ता गरेनन् । भरतपुर महानगरपालिकाको मेयरमा पनि बागी उम्मेदवारी दिएका पौडेलले क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका थिए । भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार हुँदा समयमा नै खर्च विवरण नबुझाएको भनेर जरिवानामा परेका पौडेलले ७ लाख ५० हजार रकम बुझाएर चितवन ३ बाट उम्मेदवारी दर्ता गराएका थिए । चितवन ३ मै बागी बनेका कांग्रेसका अर्का उम्मेदवार दिनेश कोइरालाले नेकपा एमालेले समर्थन पाएका छन् ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार