नेभिगेशन
समाचार

प्रभु साहले षडयन्त्रपूर्ण साँठगाँठ गरे : एमाले महासचिव पोखरेल

काठमाडौं–नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी नेता प्रभु साहप्रति आक्रोश व्यक्त गरेका छन् । महासचिव पोखरेलले साहले अराजनीतिक षड्यन्त्र गरेको आरोप लगाएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले साहले पार्टीलाई धोका दिएर स्वतन्त्र उम्मेदवारी दिएको बताएका हुन् । मधेस प्रदेशमा जसपासँग तालमेल गर्ने सम्झौता बैठकमा सहभागी भए पनि साहले अन्तिम समयमा धोका दिएको महासचिव पोखरेलको भनाइ छ । साथै साहले गठबन्धनका नेतासँगको षड्यन्त्रपूर्ण साँठगाँठ गरेको पनि पोखरेलले बताएका छन् । पोखरेलले लेखेका छन्, ‘प्रभु साह जसपासँगको तालमेलको सम्झौता बैठकमा सहभागी हुनु भो ।उक्त सहमतिपश्चात मधेस प्रदेशमा उम्मेदवार टुंगो लगाउने छलफलमा बस्नु भो । निर्णयभएर अनुसार रौतहटको टिकट पनि लिएर जानु भो । तर पार्टीलाई धोका दिएर अन्तिम समयमा आफूले स्वतन्त्र उम्मेदवारी दिनु भो र अन्य क्षेत्रका उम्मेदवारको टिकटसमेत नदिकन समय गुजार्ने षडयन्त्र गर्नु भो । राजनीतिमा यस प्रकारको षडयन्त्रलाई असहमतिको जामा लगाउनुको कुनै अर्थ छैन । यस प्रकारको छलछाम गठबन्धनका नेतासँगको षडयन्त्रपूर्ण साँठगाँठ नै हो । रौतहटका जनताले यस षडयन्त्रलाई राम्ररी नै बुझेका छन् । मधेस प्रदेशमा नेकपा(एमाले) र जसपाबीचमा भएको सहकार्य र तालमेललाई पूर्ण रूपमा सफल बनाऔँ ।’ एमालेका स्थायी कमिटी सदस्य प्रभु साहसहितका जिल्लास्तरका केही नेता मधेस प्रदेशमा प्रतिनिधिसभा तथा प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका छन् । साह समूहले २५ स्थानमा स्वतन्त्र उम्मेदवारी दिएको हो । जसपासँग मधेसमा चुनावी तालमेल गर्न नहुने पक्षमा रहेका साहले आफ्नै पार्टीको टिकट अस्वीकार गर्दै स्वतन्त्र उम्मेदवारी दिएका हुन् । साहले रौतहट–३ मा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार