नेभिगेशन
समाचार

चुनावको दिन गाडी चल्न दिइने

काठमाडौं–निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको दिन मंसिर ४ गते यातायात सञ्चालन गर्न दिने तयारी गरेको छ । आज पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको दिन व्यवस्थित ढंगले यातायात सञ्चालन गर्न अनुमति दिने तयारी गरिएको जानकारी दिए । उनले भने, ‘निर्वाचन आयोग, यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, गृह मन्त्रालय रहेको कार्यदल गठन भएको छ । सो कार्यदलले दिएको सुझावका आधारमा आयोगले उक्त दिन व्यवस्थित ढंगले यातायातका साधन चलाउन अनुमति दिन्छ ।’ मतदानका दिन सवारी साधन नचल्दा ज्येष्ठ नागरिक, अशक्त व्यक्ति र मतदान केन्द्रबाट टाढा भएका मतदातालाई मतदानस्थलसम्म पुग्न असुविधा भएकोले मापदण्ड अनुसार सवारी चल्न दिइने उनको भनाई छ । थपलियाले भने, ‘विगतमा जस्तो निर्वाचनको दिन हो कि नेपाल बन्दको आह्वानको दिन हो भन्नेजस्ता अभिव्यक्ति सुन्नुपर्ने छैन ।’ यस्तै आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयनमा दुई दिन समय दिन नसक्ने बताएको छ । आयुक्त थपलियाले स्थानीय तह निर्वाचनको मनोनयन, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक पद्धतिको बन्द सूची बुझाउँदा जस्तै दुई दिन समय दिन नसक्ने बताए । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारी दर्ताको समय आइतबारलाई तोकिएको छ । देशभर वर्षा, बाढी, पहिरो र डुवानको समस्या देखिएपछि दलहरुले निर्वाचन कार्यक्रम सार्न वा मनोनयनको समय २ दिन राख्न आयोगलाई आग्रह गरेका छन् । तर, आयोगले निर्वाचन कानुनले प्राकृतिक विपत्तिका कारण मनोनयन पछि सार्न छुट नदिएको जवाफ दिएको छ । प्राकृतिक विपत्ति आइपरे मतदानको काम स्थगित गर्न सकिने कानुनी व्यवस्था भएको तर निर्वाचन कार्यक्रम सार्ने व्यवस्था नभएको प्रमुख आयुक्त थपलियाले बताए । उम्मेदवार आफैं जान नसके प्रतिनिधि वा वारेसमार्फत पनि मनोनयन दर्ता गराउन सकिने थपलियाले बताए । उनले आइतबार बिहान १० देखि ५ बजेसम्म देशभरका मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताका लागि आवश्यक संरचना, जनशक्ति र सुरक्षा प्रबन्ध भइसकेको बताए । त्यस्तै प्रमुख निर्वाचन आयुक्त थपलियाले जित्ने उम्मेदवारलाई पराजित उम्मेदवारले खुसीका साथ माला लगाइदिने वातावरण बनाउन आग्रह समेत गरे । उनले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सबै पक्षको सहयोग अपरिहार्य रहेको बताए । मतदानको अधिकारलाई सुरक्षित राख्न र मतदानलाई कुनै पनि तरिकाबाट प्रभावित गर्नेहरूलाई कुनै पनि किसिमको दण्ड तथा कारबाहीका लागि आयोग तत्परताका साथ लागू गर्ने थपलियाले बताए । प्रमुख आयुक्त थपलियाले विभिन्न मतदानस्थलहरुमा सुरक्षा अवस्था हेरेर वर्गीकरण गरिएको बताए । उनले निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि आयोग प्रतिबद्ध रहेको बताए । त्यस्तै आयोगले समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवारी मनोनयनपत्र दर्ता गराउन राजनीतिक दलहरुलाई आग्रह गरेको छ । संविधान, कानुनको व्यवस्था र मर्मबमोजिम सबै वर्ग, क्षेत्र, लिंग, समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवारी दिन आग्रह गरेको हो । आयोगले ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतहरुको कार्यालय र ८८ वटा निर्वाचन अधिकृत कार्यालय स्थापना गरिसकिएको जानकारी दिएको छ । मंसिर ४ गतेका लागि तय गरिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब ४३ दिन बाँकी छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार