नेभिगेशन
समाचार

भीम रावल र घनश्याम भुसाललाई समाजवादी र माओवादीको 'अफर'

काठमाडौं–एमालेबाट आउँदो चुनावका लागि पार्टीका दुई वरियष्ठ नेतालाई टिकट नदिएपछि उनीहरुलाई सत्ता गठबन्धनबाट आवद्ध दुई दलले आफनो पार्टीबाट चुनाव लड्न अफर गरेका छन् । एमालेले चुनावी टिकट नदिएपछि नेता भीम रावललाई नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट चुनाव लड्न प्रस्ताव गरेका छन् । नेपालले आज रावललाई टेलिफोन गरेर अछाम–१ बाटै प्रतिनिधिसभाको उम्मेदवार बन्न प्रस्ताव गरेका हुन् । तर नेता रावलले भने टिकट नपाए बरु चुनाव नलड्ने तर एमाले नछोड्ने जवाफ दिएको स्रोतले बताएको छ । सत्ता गठबन्धनको तर्फबाट अछाम–१ नेकपा एकीकृत समाजवादीको भागमा परेको छ । नेपालले सोही क्षेत्र रावललाई दिने प्रस्ताव गरेका हुन् । तर एमाले नेता रावलले सो प्रस्ताव अस्वीकार गरेपछि पूर्व योजना अनुसार नै हाल श्रममन्त्री पनि रहेका शेरबहादुर कुँवरलाई उठाउने तयारी समाजवादीले गरेको छ । अछाम–१ बाट रावललाई हटाएर एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीबाट एमाले प्रवेश गरेका झपड बोहोरालाई उम्मेदवार बनाउने घोषणा गरेका छन् । भुसालालाई रुपन्देही–१ मा ‘निम्तो’ नेकपा माओवादीले गठबन्धनमा आफ्नो भागमा परेको रुपन्देही–१ बाट चुनाव लड्न एमालेका नेता घनश्याम भुसालसमक्ष प्रस्ताव गरेको छ । भुसाल–१ मा चुनाव लडे गठबन्धनले अर्को उम्मेदवार नउठाउने माओवादीको प्रस्ताव छ । यसो गर्दा भुसाललाई माओवादीसहित नेपाली कांग्रेस, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको साथ रहनेछ । एमालेले टिकट नदिएपछि भुसालले आजै एमाले परित्याग गरेको घोषणा गरेका छन् । माओवादीको प्रस्तावप्रति भुुसालले कुनै प्रतिक्रिया जनाएका छैनन । केपी ओलीको नेतृत्वमा नेकपा एमाले नसुध्रने निष्कर्ष निकाल्दै भुसालले शनिबार एमाले परित्याग गरेका छन् । अब उनी रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव लड्न कि अरु पार्टीको चुनाव चिह्न लिने भन्ने बारे निर्णय गरेका छैनन् । रुपन्देही–१ मा एमालेले छविलाल विश्वकर्मालाई उम्मेदवार बनाएको छ । रुपन्देही–३ मा भने भुसालले पाउनुपर्ने टिकट खोसेर राप्रपाका दीपक बोहोरालाई दिइएको छ । बोहोरासँग कांग्रेस नेता बालकृष्ण खाँडको प्रतिस्पर्धा हुनेछ ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार