नेभिगेशन
समाचार

जसपा र राप्रपासँग एमालेले मिलायो तालमेल

काठमाडौं–नेकपा एमालेले जसपा र राप्रपासँग आसन्न प्रतिनिधिसभा र प्रदेशसभाका निर्वचनका लागि तालमेल टुंग्याएको छ । एमाले र जसपाबीच मधेसका ३२ सिटमा सहमति जुटेको छ । मधेस प्रदेशका ३२ मध्ये जसपा १६ र एमाले १६ सिटमा चुनाव लड्ने गरी सहमति भएको छ । प्रतिनिधि सभातर्फ मधेसका ३२ मध्ये १६–१६ सिटमा सहमति जुटेको एमालेका एक नेताले बताए । सोही अनुपातमा प्रदेशमा पनि सिछ बाँटफाँट गरिनेछ । यसैबीच नेकपा एमाले प्रचार विभाग उपप्रमुख समेत रहेका केन्द्रीय सदस्य विष्णु रिजालले जसपा र राप्रपासँग सहमति गरेर अध्यक्ष ओली आजै झापा जाने बताए । भोलीको उम्मेदवारी दर्ताका लागि अध्यक्ष आजै झापा जाने कार्यक्रम छ । राप्रपालाई ३ सिट राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एमालेबीच प्रतिनिधिसभाका ३ वटा सिटमा तालमेल हुने भएको छ । बाँकी सिटहरुमा दुई दलबीच प्रतिस्पर्धा हुने गरी एमाले–राप्रवाबीच सहमति जुटेको हो । त्यसैगरी प्रदेश १ को झापा–३ मा एमालेले राप्रपालाई सघाउने भएको छ भने झापा–५ मा राप्रपाले एमाले अध्यक्ष केपी ओलीलाई सघाउने भएको छ । यी क्षेत्रमा पनि सहमति जुटेको छ । रुपन्देही–३ मा एमालेले राप्रपालाई सघाउने छ । यो क्षेत्रमा राप्रपाका दिपक बोहोरालाई अघि सारेको र यसमा सहमति भएसकेको छ । ती नेताका अनुसार राप्रपासँग धेरै सिटमा तालमेल हुदैन । लगभग ३ सिट सहमति जुटेको छ । राप्रपालाई नेकपा एमालेले झापा, रुपन्देही र बाँकेका तीनवटा निर्वाचन क्षेत्र छाडिदिएको छ । झापामा राजेन्द्र लिङदेन, रुपन्देहीमा दीपक बोहोरा र बाँकेमा धवल शमशेर जबरालाई एमालेले सघाउने भएको हो । जुम्लामा ज्ञानेन्द्र शाही र चितवनमा विक्रम पाण्डेलाई पनि सघाउनुपर्ने राप्रपाको माग पूरा गर्न केपी ओली तयार नभएपछि तीनवटा सिटमा मात्र तालमेल भएको हो । राप्रपा नेताले दिएको जानकारी अनुसार तालमेल नभएका ठाउँमा देशैभरि राप्रपाले उम्मेदवारी दिनेछ ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार