नेभिगेशन
समाचार

कार्यकाल सकिए पनि सांसदले लिए दशैं खर्च

धनगढी– पाँच वर्षको कार्यकाल सकिएका सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा पदाधिकारीहरूले दशैं खर्च बुझेका छन् । चाडपर्व खर्च अन्तर्गत सुदूरपश्चिमका सभामुख, उपसभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, संसदीय समितिका सभापति, विपक्षी दलका प्रमुख सचेतक, सत्तापक्षीय संसदीय दलका प्रमुख सचेतक, विपक्षी दलका प्रमुख सचेतक र प्रदेश सभा सदस्यहरूले एक महिनाको पारिश्रमिक बराबरको दशैं खर्च बुझेका हुन् । सुदूरपश्चिम प्रदेश सभा सचिवालयका अनुसार गत असोज १३ गते प्रदेश सभा सदस्यहरू तथा पदाधिकारीहरूको खातामा एक महिनाको तलव बराबरको दशैं खर्च पठाइएको हो । सुदूरपश्चिमका सभामुख अर्जुनबहादुर थापाले ६४ हजार, उपसभामुख निर्मला बडाल जोशी र विपक्षी दलका नेता प्रकाश शाहले ५९ हजार ५ सय, विषयगत समितिका सभापति हर्क कुँवर, नेपालु चौधरी, कुमारीनन्दा बम, कुन्ती जोशी र सत्ता पक्षीय प्रमुख सचेतक दुर्गा विकले प्रतिव्यक्ति ५७ हजार ५ सयका दरले दशैं खर्च बुझेका हुन् । दुर्गा केही समयअघि नेकपा एकीकृत समाजवादी पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरिसकेकी थिइन् । तर उनले पुरानै दलबाट दशैं खर्च लिएकी छिन् । विपक्षी दलका प्रमुख सचेतक लिलाधर भट्ट, सत्ता पक्षीय सचेतक अक्कल रावल र अम्बी थापाले पनि ५७ हजार बुझेका छन् । यी बाहेक प्रदेश सभा सदस्यहरूले एक महिनाको पारिश्रमिक बरारबको ५६ हजार ५ सय बुझेका छन् । प्रतिनिधि र प्रदेश सभा सदस्यको उम्मेदवारी मनोननयनको प्रक्रियासँगै प्रदेश सभा सदस्यहरूको पदमुक्त हुने संवैधानिक व्यवस्था छ । सोही आधारमा बन्दसूची पेस भएको असोज २ को अघिल्लो दिन १ गते रातिदेखि उनीहरू पदमुक्त भएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार