नेभिगेशन
समाचार

कांग्रेस र माओवादीले बुझायो समानुपातिक बन्दसूची

काठमाडौं— नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभामा पार्टीको तर्फबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार चयनको विषयलाई लिएर पार्टीभित्रको विवाद सुल्झाउँदै कांग्रेसले समानुपातिकतर्फको संशोधित बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव तथा राष्ट्रिय सभा सांसद कृष्णप्रसाद पौडेलले संशोधित बन्दसूची आयोगमा बुझाएको जानकारी दिएका छन् । पौडेलका अनुसार पार्टीभित्र प्रतिनिधिसभाको समानुपातिक बन्दसूचीमा रहेका नेताहरूको नामबारे भएको विवाद समाधान भएको छ । पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासहितका पदाधिकारी बसेर बन्दसूची संशोधन गरिएको उनको भनाइ छ । कांग्रेसको समानुपातिक बन्दसूचीमा प्रधानमन्त्री तथा सभापति देउवाकी श्रीमतीसमेत रहेकी केन्द्रीय सदस्य आरजू राणा देउवा, गृहमन्त्री बालकृष्ण खाँणकी श्रीमतीसमेत रहेकी केन्द्रीय सदस्य मञ्जु खाँण, प्रवक्ता प्रकाशशरण महत, पदाधिकारीद्वय फरमुल्लाह मन्सुर, जीवन परियार, नेता विमलेन्द्र निधि, आनन्दप्रसाद ढुंगाना, चन्द्रमोहन यादव, अनील रुंगाटालगायतको नाम रहेको छ । महिलातर्फ राणा पहिलो नम्बरमा थिइन् । समानुपातिक सूचीमा आफ्नो पक्षका नेताहरूलाई प्राथमिकतामा नराखेको भन्दै शेखर कोइराला समूह विरोधमा उत्रिएको थियो । यस्तै माओवादी केन्द्रले पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फका उम्मेदवारको अन्तिम नामावली निर्वाचन आयोगमा बुझाएको छ । माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङका अनुसार सुरुको बन्दसूचीमा रहेका प्राविधिक त्रुटि सच्याएर अन्तिम नामावली बुझाएको हो । समानुपातिकतर्फको अन्तिम नामावली बुझाउने अन्तिम दिन आइतबार सबै राजनीतिक दलहरूले आ–आफ्नो समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगलाई बुझाइरहेका छन् । ‘पहिले बुझाएको नामहरूमा खासै संशोधन थिएन । विभिन्न खालका प्राविधिक त्रुटिहरू मिलाउने, उम्मेदवारका कागजात बुझाउनुपर्ने थियो; त्यो गरिएको छ,’ उनले भने । माओवादीको समानुपातिक बन्दसूचीमा प्रतिनिधिसभातर्फ उपाध्यक्ष कृष्णबहादुर महरालगायत नेताहरू रहेका छन् । बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीबाट माओवादीको समानुपातिक बन्दसूचीमा गंगानारायण श्रेष्ठलगायत पाँच नेताको नाम प्राथमिकतामा राखिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार