नेभिगेशन
समाचार

भरतपुरमा प्रचण्डको नयाँ घर

भरतपुर–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भरतपुरस्थित आफ्नो पुख्र्यौली जग्गामा बनेको नयाँ घरमा सरेका छन् । भरतपुर महानगरपालिका–१४ स्थित शिवनगरमा बनेको एक तले नयाँ घरमा प्रचण्ड र पत्नी सीता दाहाल सरेका हुन् । घटस्थापनाको साइत पारेर आज उनले गृह प्रवेश गरेका हुन् । उनी बाजागाजासहित नयाँ घरमा गृह प्रवेश गरेका हुन् । प्रचण्डसहित उनकी पत्नी सीता दाहाल, छोरीहरु रेनु दाहाल, गंगा दाहाल र पार्टीका नेता कार्यकर्ता थिए । यसअघि उनी भाडाका घरमा बस्ने गर्थे । ती घर पनि शिवनगरभित्रै रहेको छ । चितवन–३ स्थित आफ्नै निर्वाचन क्षेत्रमा प्रचण्डले घर बनाएका हुन् । एकतले घर ६ कठ्ठा जग्गामा बनेको छ । घरमा बनेको जग्गा प्रचण्डको पैतृक सम्पत्ति रहेको जनाइएको छ । यसअघि प्रचण्ड काठमाडौंबाट चितवन जाँदा भरतपुरको शिवनगरस्थित भाडाको घरमा बस्ने गर्थे । अध्यक्ष प्रचण्ड अहिले बिरामी पत्नी सीतासँगै चितवनमै छन् । आफ्नो निर्वाचन क्षेत्र चितवन–३ का नेता तथा कार्यकर्तासँग उनले भेटघाटलाई तीव्र पारेका छन् । पछिल्लो समय जिल्लाका केही चर्चित नेताहरुले माओवादी छाडेर एमालेतिर लागेपछि प्रचण्डलाई चुनौती थपिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार