नेभिगेशन
समाचार

कांग्रेसको शेखर पक्ष आन्दोलित

काठमाडौं–समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा पार्टी नेतृत्वले मनोमानी गरेको भन्दै नेपाली कांग्रेसमा डा. शेखर कोइरालाले नेतृत्व गरेको इतर समूहले आन्दोलनको घोषणा गरेको छ । काठमाडौंको ठमेलस्थित होटल यात्रीमा आज भएको भेलाले पार्टी भित्र समान हक र न्यायका लागि नेतृत्वलाई दबाब दिन आन्दोलनको घोषणा गरेको हो । इतर समूहका नेता नेता जगदिश्वरनरसिंह केसीले समानुपातिकको बन्दसूची सच्याएर आफ्नो समूहका नेताहरुको नाम समावेशका लागि दबाब दिन पार्टी कार्यालय सानेपामा धर्ना दिने कार्यक्रम तय गरिएको बताए । उनका अनुसार बुधबार १२ बजेदेखि २ घण्टासम्म धर्ना दिइनेछ । भेलाले बिहीबार इतर समूहका पहिलो तहका नेताहरुसँग पनि छलफल गर्ने निर्णय गरेको छ । बत्तिसपुतलीको अनुपम फुडल्यान्डमा कार्यक्रम गरेर नेता डा. कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीलगायतका नेताहरुसँग छलफल गरिने छ । ठमेलमा भएको भेलामा बागमती प्रदेश सभापतिका प्रत्याशी केसीसहित केन्द्रीय सदस्यहरु अजयबाबु शिवाकोटी, प्रकाश स्नेही, प्रतिमा गौतम, मधु आचार्य, प्रदेश १ सभापतिका प्रत्यासी गुरुराज घिमिरे, कर्णाली प्रदेश सभापतिका प्रत्याशी भुपेन्द्रजंग शाही, धादिङ सभापति रामनाथ अधिकारी, चितवनका पूर्वसभापति जितनारायण श्रेष्ठ लगायत छन् । संघीय र प्रतिनिधिसभा निर्वाचनको टिकट वितरण गर्दा ४० प्रतिशत भाग पाउनुपर्ने माग गर्दै इतर समूहका दोस्रो तहका नेताहरु दबाबमूलक कार्यक्रम गर्दै आएका छन् । उनीहरुले असोज १४ गतेसम्म पनि माग सुनुवाइ नभए कठोर निर्णय लिनेसमेत चेतावनी दिएका छन् । कोइराला समूहले आगामी निर्वाचनका लागि टिकट वितरणमा सभापति शेरबहादुर देउवाको भूमिकाप्रति प्रश्न उठाउँदै केही दिनदेखि निरन्तर विद्रोही भेला र कार्यक्रम गरिरहेका छन् । पार्टीमा ४० प्रतिशत सिट मागिरहेको कोइराला समूहका नेताहरुले समानुपातिक उम्मेदवार चयनमा सभापति देउवाले एकलौटी गर्ने प्रयास गरेको भन्दै विरोध गर्दै आएका छन् । समानुपातिक सूचीमा रहेका नाम सच्याउनुपर्ने उनीहरुको माग छ । कोइराला समूहका नेताहरुले विद्रोही गतिविधि गरे पनि नेता कोइरालासहित पदाधिकारीहरु भने सहभागी भएका छैनन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार