नेभिगेशन
समाचार

कांग्रेस संस्थापन इतर पक्षद्वारा पार्टीमा ४० प्रतिशत हिस्सा दाबी

काठमाडौं–सत्ता गठबन्धनमा सिट बाँडफाँट पेचिलो बनिरहेको बेला प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई पार्टीभित्रैबाट चुनौति थपिएको छ । पार्टीभित्र टिकट वितरणमा असन्तुष्टि जनाउँदै संस्थापन इतर पक्षले बेग्लै भेला राखेपछि देउवालाई थप समस्या परेको हो । पाँच दलभित्र सिटको भागबण्डा मिलाउन हम्मेहम्मे परेको बेलामा संस्थापन इतर पक्षको नेतृत्व गरिरहेका डा. शेखर कोइरालाले ४० प्रतिशत हिस्सा खोजेका छन् । संस्थापन इतर समूहले काठमाडौंमा खबरदारी सभा आयोजना गरेको छ । नयाँ बानेश्वरमा आयोजना गरिएको भेला नुवाकोटका निवर्तमान सभापति जगदीश्वरनरसिंह केसीको अगुवाइमा आयोजना भएको हो । टिकट वितरणमा ४० प्रतिशत भाग पाउन पर्ने भन्दै आयोजना गरिएको यो भेलालाई अवसर र न्यायका लागि आयोजना गरिएको नेताहरुले बताएका छन् । भेलामा संस्थापन इतर समूहका नेता शेखर कोइराला र उनको समूहबाट पदाधिकारीहरु भने उपस्थित छैनन् । शेखर समूहले पटकपटक भेला र बैठक गरेर सभापति देउवालाई दबाब दिंदै आएका छन् । साथै आफूहरूलाई न्यायोचित व्यवहार नगरिए गठबन्धनमा समेत समस्या आउने चेतावनी पनि दिएका छन् । लामो समय त्याग तपस्या गरेका नेताहरुलाई पाखा लगाइएको र देउवा एउटा गुटको नेतामात्रै बनेको आरोप उनीहरुले लगाए । नेपाली कांग्रेस एक भएर जाने हो भने गठबन्धनको आवश्यकता नरहेको जनाउँदै उनीहरुले जनता र कार्यकर्तालाई केन्द्रबिन्दु नराखिएको बताए । गठबन्धनसँग प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले कम्तिमा १ सय सिट लिनुपर्ने दाबी गर्दै आइरहेका छन् । तर, देउवा गठबन्धन जोगाउन लचक हुन तयार छन् । प्रत्यक्षमा टिकटको टुंगो नलागेको बेलामा समानुपातिकमा समेत आफूहरुलाई अन्याय गरेर बन्द सूची बुझाइएको उनीहरुको आरोप छ । सिट बाँडफाँटमा न्यायोचित व्यवहार नभए गठबन्धनमै समस्या आउने चेतावनी कोइराला समूहको छ । शेखर पक्षका नेता जग्दीश्वरनरसिंह केसी देउवा अझै पार्टीको सभापति बन्न नसकेको दाबी गर्छन् । इतर पक्षको भेलामा पुगेका उनले भने, ‘उहाँ (देउवा)ले पार्टीलाई समान ढंगले विधि र विधानअनुसार चलाउँछु भन्नुभएको थियो । तर, उहाँको व्यहारमा देखिएन । उहाँ अझै गुटको मात्रै सभापति बन्नुभयो ।’ ‘शेरबहादुर दाई आफै संस्थापन इतर हुँदा नै पार्टीमा ६०÷४० को नजिर स्थापित गर्नुभएको हो । त्यसैले हामीले अहिले त्यही खोजेका हौँ । सम्मानजनक सिट नपाए विद्रोह हुनसक्छ’ उनको भनाइ छ । आफूहरुले सम्मानजनक रुपमा टिकट नपाए आफूहरु पार्टी बाहिर बस्ने चेतावनी दिए । उनले गठबन्धनको कारणले समानुपातिकामा कांग्रेसको भोट घट्नसक्ने बताए। कांग्रेसले एक्लै बहुमत ल्याउनसक्ने दाबी गरे । ‘उहाँहरुले गठबन्धन गर्ने निर्णय गराउनुभयो । त्यो स्वीकारेका छौँ । अब पार्टीभित्रको व्यवस्थापन पहिला गर्नुस् । तर, पार्टीभित्रको व्यवस्थापनमा ध्यान दिन सक्नुभएन । हामीलाई वेवास्ता गरे विद्रोह हुनसक्छ’ उनले भने । नेता मोहन बस्नेतले कांग्रेस केन्द्रीय सदस्य निर्णय विपरीत समानुपातिक टिकट वितरण भएको बताए । उनले भने, ‘कांग्रेसको लागि ज्यान दिने साथीलाई बाहिर राखेर आयातीत, मसलवालाहरुलाई भित्र ल्याउने काम भयो ।’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार