नेभिगेशन
जीवनयापन

उम्मेदवारको मनोनयनसँगै संसद्को कार्यकाल सकिने कानुनी व्यवस्था गरौँ : गगन थापा

काठमाडौँ– सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उम्मेदवार मनोनयन भएको मितिबाटै संसद्को कार्यकाल सकिने गरी कानुनी व्यवस्था गर्नु उपयुक्त हुने बताएका छन् । मङ्गलबार प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथिको दफावार छलफलमा भाग लिँदै महामन्त्री थापाले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने भन्दा पनि सो निर्वाचनका लागि उम्मेदवार मनोनयन गरेपछि सांसद पद नरहने गरी आवश्यक व्यवस्था गर्नु उपयुक्त हुने धारणा राखेका हुन् । महामन्त्री थापाले भने ‘‘मूलतः प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालको विषयमा संसद् भित्र पनि संसद् बाहिर पनि चासोको विषय बन्यो । हामीले समयको ख्याल गर्नुपर्छ भन्ने कुराको यो प्रमाण हो । हामीले संविधानका जुन खालको व्यवस्था गरेको छौँ–तीन तहको सरकार, संसद्, त्यसको निर्वाचन अवधिहरू तोकेका छौँ । त्यसको कार्यकालको सन्दर्भमा ऐनबाट हामीले स्पष्ट व्यवस्था गर्नुपर्नेछ ।’’ उहाँले पछिल्लो केही समययता सांसद १र२ महिनाको पारिश्रमिकका लागि मरिहत्ते गर्छन् भन्ने गलत सन्देश बाहिर गएको उल्लेख गर्दै सांसदलाई नै दाग लगाउने त्यस्ता खालका सन्देश प्रवाह हुन नदिन सत्तापक्ष र प्रतिपक्ष एक ठाउँ उभिनुपर्ने आवश्यकतासमेत औँल्याए। ‘‘मानौँ हामीहरू एकरदुई महिनाको पारिश्रमिक र सेवा, सुविधा लिने कुराको निम्ति सबै मरिहत्ते गरिरहेका छौँ । त्यो नै सर्वाधिक महत्त्वको कुरो हो जस्तो गरिएको छ । कहिलेकाहीँ संसद्को प्रतिष्ठाको लागि हामी एक ठाउँ उभिनुपर्छ । हामी उभिएनौँ भनेदेखि त्यसको दाग हामी सबैलाई लाग्छ । यतातिर पनि हेक्का राखौँ भन्ने लाग्छ मलाई’’, थापाले भने । अहिले प्रस्तुत भएको सन्दर्भमा निर्वाचनपछि आउने सांसदले लामो बहस र छलफल गर्ने उनको भनाइ छ । सांसद थापाले आवश्यक परे संविधान संशोधन गर्नुपर्ने विषयसमेत उठाउनु भएको छ । महामन्त्री थापाले मत परिणाम घोषणा भएको अन्तिम दिनलाई आधार मानेर प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल तोक्नुपर्ने बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै