नेभिगेशन
जीवनयापन

प्रतिनिधिसभा बैठक : नयाँ स्टक एक्सचेञ्ज किन ?

काठमाडौँ– प्रतिनिधिसभा बैठकमा सांसदहरुले राष्ट्रिय तथा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । मङ्गलबारको प्रतिनिधिसभा बैठकमा किसानले समयमा मल तथा बिल पाउन नसकेकोमा उनीहरुले सरकारको ध्यानकर्षण गराए । सांसद कृष्णप्रसाद दाहालले हाल सञ्चालनमा रहेका नेपाल स्टक एक्सचेञ्जलाई प्रभावकारी एवम् सुदृढ गर्दै आधुनिकीकरण गर्नुपर्नेमा जोड दिए । नेपालको पुँजी बजारले नयाँ स्कट एक्सचेञ्ज धान्ने अवस्था नभएको तथा कारोबार घटेर रु एक अर्बमा सीमित हुन लागेको उनको भनाइ थियो । सांसद दाहालले अनधिकृत तवरले नयाँ स्टक एक्सचेञ्जलाई अनुमतिपत्र दिन लागिएको बताए । उनले त्यस्तो नयाँ संस्था आवश्यक नभएको भन्दै सरकारले गलत निर्णय गर्न लागेको आरोप लगाए । सांसद खेमप्रसाद लोहनीले भूकम्प प्रभावित नागरिकको आवास निर्माणको काम पूरा नभएकाले भूकम्पपछिको पुनर्निर्माण प्राधिकरणको कामलाई व्यवस्थित बनाउन र ४० हजार भूकम्प प्रभावितको समस्याको समाधान गर्न माग गरे । सांसद गजेन्द्रबहादुर महतले महाअभियोग लागेका सर्वोच्च अदालतका प्रधानन्यायाधीशले पदीय मर्यादा विपरीत गएर अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए । सांसद गणेशप्रसाद पहाडीले सिन्धुली जिल्लाका विभिन्न नदीले बस्ती कटान गरेकाले जनजीवन प्रभावित भएको भन्दै तत्काल तटबन्धको प्रबन्ध गर्न सरकारको ध्यानकर्षण गराए । सांसद घनश्याम खतिवडाले वास्तविक किसानले प्रभावकारी रुपमा राहत तथा अनुदान पाउन नसकेकामा गुनासो गरे । सांसद कृष्णभक्त पोखरेलले राष्ट्रिय सहमति जुटाएर नागरिकता विधेयक पारित गर्नुपर्नेमा त्यसो नभएकामा आपत्ति प्रकट गरे।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै