नेभिगेशन
जीवनयापन

नेपालको कूल कुष्ठ रोगी मध्ये ४५ प्रतिशत मधेश प्रदेशमा

जनकपुरधाम- मधेश प्रदेशको जिल्लाहरूमा प्रभावकारी कुष्ठ रोगको खोजतलास तथा उपचार नगरेको खण्डमा नेपाल सरकारले लिएको कुष्ठरोग उन्मूलनको नीति कार्यान्वयन गर्न कठिन हुने भएको छ । मधेश प्रदेशको स्वास्थ्य निर्देशनालयको आयोजनामा मधेश प्रदेशको बढी कुष्ठरोगी भएको धनुषा तथा महोत्तरी जिल्लामा शुरु भएको कुष्ठरोग सार्ने क्रमलाई रोक्ने परिष्कृत पद्धतिको बारेमा जानकारी दिने उद्देश्यले आज जनकपुरधाममा आयोजना गरिएको कार्यक्रममा यस क्षेत्रका सहभागी विज्ञहरूले सन् २०३० सम्ममा नेपालबाट कुष्ठरोग उन्मूलन गर्न कठिन हुने बताउनुभयो । अहिले मधेश प्रदेशको धनुषामा १ हजार ४ सय ८३ र महोत्तरी जिल्लामा १ हजार ७ सय ३० जना कुष्ठरोगीहरु रहेको आर ई पी प्लस प्लस कार्यक्रमका संयोजक डा. रविन्द्र कुशवाहाले जानकारी दिनु भयो । देशमा रहेका कूल कुष्ठ रोगी मध्ये मधेश प्रदेशमा मात्र ४५ प्रतिशत रहेको जानकारी दिँदै यो कार्यक्रम रौतहट, बारा तथा पर्सा जिल्लामा यस अघि नै सञ्चालनमा रहेको जानकारी डा. कुशवाहाले दिनुभयो । उहाँले कुष्ठ रोगीको सम्पर्कमा लगातार रुपमा २० घण्टासम्म रहेका खण्डमा रोग सर्ने भएकाले यसको शङ्का लागेको खण्डमा समयमा नै परीक्षण तथा औषधि सेवन गर्नका लागि सुझाव दिनु भयो । आफूहरू अहिले खोज गर्ने काम जारी राखेको पनि डा. कुशवाहाले बताउनु भयो । कार्यक्रममा बोल्दै मधेश स्वास्थ्य स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहले कुष्ठरोग गरिबी तथा अशिक्षाका कारणले बढी मात्रामा हुने गरेको बताउँदै यसको समयमा उपचार गरेको खण्डमा अङ्गभङ्ग हुनबाट जोगिन सक्ने भएकाले पुरानो मान्यतालाई परित्याग गरेर उपचारमा आउनका लागि सुझाव दिनु भयो । उहाँले पुरातन सामाजिक मान्यतालाई चिर्दै गरिबी निवारण तथा शिक्षाको कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक भएको बताउँदै समुदायमा नै स्वास्थ्य शिक्षा कार्यक्रम गरेर कुष्ठरोगको उपचार तथा निदानको कार्यक्रम गर्न आवश्यक भएको बताउनु भयो । मधेश प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाले मधेश प्रदेश तथा देशकै स्वास्थ्य समस्याको रुपमा कुष्ठरोग भएपनि घर दैलो कार्यक्रम गर्नका लागि मधेश प्रदेश तथा संघ सरकारले बजेट विनियोजन नगरेकोमा दुःख व्यक्त गर्नु भयो । उहाँले सन् २०३० सम्ममा मुलुकमा कुष्ठरोगी उन्मूलन गर्ने लक्ष्य लिएको बताउँदै १० हजार जनसङ्ख्यामा १ जनामा रोग भएको खण्डमा उन्मूलन भएको मान्न सकिने मान्यता भएको बताउनु भयो । सोही कार्यक्रममा कुष्ठरोगको खोजतलास तथा रोगीलाई उपचारमा ल्याउनका लागि प्रभावकारी कार्यक्रम सञ्चालन, समन्वय तथा सहकार्य गर्न प्रादेशिक  अस्पताल जनकपुरधामका वरिष्ठ चर्म रोग विशेषज्ञ डा. रामज्ञान यादवको संयोजकत्वमा ७ सदस्यीय समिति निर्माण गर्नुका साथै मधेश प्रदेका स्वास्थ्य निर्देशक विजय कुमार झा, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साह सहित तीन जनाको सल्लाहकार समिति गठन गरेको निर्देशनालयका कुष्ठरोग सम्पर्क अधिकृत राजवीर यादवले जानकारी दिनु भयो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय