नवौं राष्ट्रिय खेलकुदका लागि खेलाडी छनोट प्रतियोगिता शुरु

बिहीबार, मंसिर ८, २०७९
झापा - झापामा जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिता शनिबारदेखि शुरु भएको छ । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगितामा झापाबाट प्रतिनिधित्व गर्नका लागि खेलाडी छनोट शुरु गरिएको हो । मेची रङ्गशाला भद्रपुरमा झापा जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको खेलाडी छनोट प्रतियोगिताको उद्घाटन प्रदेश १ का खेलकुद विकास बोर्डका सदस्य सचिव एवम् पूर्व खेलाडी हंशराज वाग्लेले गरेका छन् । पहिलो दिन मेची रंगशालामा खोखो र आर्चरी तथा बाहुनडाँगीमा भलिबलका खेलहरू हुने भएका छन् भने जुडो-उसुका प्रदर्शनीहरू भएको समितिका सदस्य दुर्वासा कार्की ‘जगण’ले जानकारी दिए । झण्डै ९ सय खेलाडी सहभागी हुने जिल्लास्तरीय यस प्रतियोगिताको पहिलो दिनको खेलबाट खोखोको महिला/पुरुष र महिला भलिबलका खेलाडीहरू छनोट भएको कार्कीले बताए । हक्कीका लागि पनि खेलाडी छनोट अन्तिम चरणमा पुगेको छ भने प्रतियोगितामा पहिलो पटक समावेश गरिएको आर्चरीका लागि पनि खेलाडी तयार रहेको बताइएको छ । प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स, बक्सिङ, तेक्वान्दो, कराते, भारत्तोलन, टेबल-टेनिस, कबड्डी, कुस्ती, ब्याडमिन्टन, उसु, जुडो, बास्केटबल, बुद्धिचाल, आईटीएफ तेक्वान्दो, सुटिङ, खो खो, पौडी, शारीरिक सुगठन, सेपात्राका, जिम्नाष्टिक, हक्की, साइक्लिङ र आर्चरीका खेल समावेश गरिएको छ । आइतबारदेखि जिल्लाका विभिन्न स्थानमा छुट्टाछुट्टै विधाका खेलहरू हुने कार्यालय प्रमुख शिवुकुमार नेम्बाङले जानकारी दिए । झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा कराते प्रशिक्षक भेषराज भण्डारी (प्रशान्त)-को अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ १ नं प्रदेश अध्यक्ष टिकाराज ढकाल, प्रदेश खेलकुद विकास बोर्डका सदस्य शैलेश विष्ट, प्रदीप ढकाल, भद्रपुर नगरपालिका वडा नं ८ का वडाध्यक्ष गौरव सुब्बा ’‘नोज’, झापा उद्योग संघका उपाध्यक्ष दिपेश ढकाललगायत उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०३:३९
प्रतिक्रिया दिनुहोस्