नेभिगेशन
समाचार

एउटै चुनाव चिन्हको नाममा साना दलहरु पनि गठबन्धनमा

काठमाडौँ - एउटा भनाइ छ, ‘छिटो पुग्नु छ भने एक्लै हिँड, टाढा पुग्नु छ भने समूहमा हिंड्’ । नेपालमा एक्ला एक्लै निर्वाचनमा लडेर आफूलाई मत नआउने भएपछि ठूला तथा साना पार्टीहरु गठबन्धन गर्न लागि परेका छन् । नेपालको सबै भन्दा पुरानो र ठूलो पार्टीका रुपमा रहेको नेपाली कांग्रेसले एक्लै चुनाव जिन्त नसकिने भन्दै नेकपा माओवादी केन्द्र र अन्य साना दलहरुसँग गठबन्धन गरेर चुनावमा जान थालेपछि अरु साना दलहरुलाई पनि त्यसको महसुस हुन थालेको छ । साना दल तथा अभियानमा लागेकाहरु एउटै चुनाव चिन्हमा उठ्ने नाममा संगठित हुन थालेका छन् । आउँदो मंसिर ४ गते सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणा गरेपछि सत्तारुढ गठबन्धनसँगै साना समूहहरुले पनि गठबन्धन बनाउन थालेका हुन् । नेपाल सुशासन पार्टीले नेतृत्व गरेको स्वतन्त्र राजनीतिक शक्ति नेपालले काखमा बच्चा बोकेको महिलालाई चुनाव चिन्हका रुपमा प्रस्तुत गरेको छ । जसमा सचेत नेपाली पार्टी, नेपाल आमा पार्टी, नौलो जनवादी पार्टी, प्रकृति पार्टी, विवेकशील साझा पार्टी, नौलो जनवाद पार्टी, पुनर्जागरण पार्टी लगायतका साना दल तथा समूहहरुले ऐक्यवद्धता जनाएका छन् । उनीहरुले ‘एक्ला एक्लै होइन् सँगै हिडौँ, आमुल परिवर्तनका लागि राष्ट्रिय शक्ति निर्माण गरौँ’ भन्ने नारा अघि सारेर उनीहरु एउटै चुनाव लड्ने तयारीमा लागेका छन् । एउटै चुनाव चिन्हमा चुनाव लडेपछिको अवस्थाका बारेमा अहिलेसम्म कुराकानी केही नभएको उनीहरुको भनाइ छ । सत्तामा रहेका दलहरुले गठनबन्धन गरेर निर्वाचनमा जाने भनेपछि साना शक्तिहरुलाई पनि संगठित हुनु पर्ने आवश्यक्ता बोध भएको उनीहरुको बुझाइ छ । अहिलेको दलहरुबाट केही पनि हुन सकेन भन्ने वितृष्णाकालाई मुख्य आधार बनाएर उनीहरु आफूलाई वैकल्पिक शक्तिका रुपमा स्थापित गर्ने जमर्को गरिरहेका छन् । नेपालमा वैकल्पिक शक्ति हुँ भन्दै अघि बढेका विवेकशील सझा पार्टी आन्तरिक कलहका कारण तिरवितर भएपछि अहिले स्वतन्त्र भन्ने शब्दावलीलाई हतियार बनाएर साना पार्टीहरु संगठित हुन थालेका हुन् । आगामी १० वर्ष भित्र नेपालको रुपरेखा नै परिवर्तन गरिदिने जोश बोकेर राजनीतिक शक्ति निर्माणको लागि लागेको नेपाल प्रहरीका पूर्व डिआइजी समेत रहेका नेपाल शुसान पार्टीका अध्यक्ष रमेश खरेलले उद्घोष गरे । स्वतन्त्र राजनीतिक शक्ति नेपालको संयोजक समेत रहेका उनले चुनावचिन्ह सार्वजनिक गर्ने कार्यक्रममा देशमा संगठनात्मक अपराध रहेको बताए । संगठनात्मक अपराधको चक्रव्यूहमा नेपाल फसको उनको निष्कर्ष छ । उनले सिंहदरबारमा संगठित अपराधका नाइके बस्ने र त्यसको वरीपरि थुप्रै सर्कल रहेको भन्दै यो चक्रव्यूह भत्काउनका लागि स्वतन्त्रहरु र साना दलहरु एकजुट हुनुको विकल्प नभएको स्पष्ट पारे । काखमा बच्चा लिएकी महिलालाई नेपाल आमाको संकेत गर्दै सेचत नेपाली पार्टीका अध्यक्ष पूण्य प्रसाईले यो चुनाव चिन्हबाट आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष तर्फ ३३ सिट जित्ने दावी गरे । उनले २१ लाख बढीको भोट आउने बताउँदै आफूहरुको नेतृत्वमा गठबन्धनको सरकार हुने बताए । ‘रिकल’ सिस्टमको व्यवस्था असफल भएको सुनाउँदै उनले ‘राईट टु कोर्ट’को अवधारणमा नेपालको निर्वाचन प्रणाली हुनु पर्ने जिकिर गरे । आमाले सन्तान हुकाए जसरी स्वतन्त्र राजनीतिक शक्तिले जनताको ख्याल गर्ने उनको भनाइ थियो । उनी आफूहरुको सरकार बनेपछि शिक्षा, स्वास्थ्यलगायतका मौलिक हकमा निःशुल्क हुने र देशमै रोजगारीको ग्यारेन्टी पनि हुने बताउँछन् । लौरो चुनावचिन्ह बनाएर अघि बढेको साना दलहरुको समूहलाई पनि उनीहरुले आफूमा समाहित हुन आग्रह गरिरहेका थिए । पत्रकार रवि लामिछानेलाई समेत उनीहरुले एक्लै नहिड्न सुझाएका छन् । नौलो जनवादी पार्टीका अध्यक्ष गंगालाल श्रेष्ठले रविसँग रोएरै नेतृत्व लिन र सबै स्वतन्त्रहरु एक हुन प्रसाईले गरेको आग्रहका बारेमा घोषणा सभामा सार्वजनिक गरे । ठूला पार्टीहरुले निर्वाचन प्रणाली विगारेकोले एक्लाएक्लै गएपछि आफ्नो अनुकुल नतिजा नआउने उनीहरुको भनाइ थियो । पुनर्जागरण पार्टी नेपालका अध्यक्ष श्यामबाबु गौतम अहिलेका शिर्ष नेताहरुलाई प्रधानमन्त्रीका लागि पठाउने भए निर्वाचन गरेर देशको ढुकुटी नसक्न आग्रह गर्दै थिए । उनले अहिलेका नेताहरुलाई बसालेर लुडो खेलाउने र जसले जित्यो उही प्रधानमन्त्रीको कुृर्चिमा बस्न योग्य मानिने नियम ल्याउन आवश्यक रहेको बताए । नेपालमा सरकार असफल हुनमा विज्ञताको कमी भएको पनि आजको भेलामा उपस्थितहरुको निष्कर्ष थियो । नेपालमा भएका सरकारमा विज्ञहरुको कमीका कारण सबै असफल हुने र देशको विकास नहुने जडका रुपमा विकसित भएको उनीहरुले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार